सोसल मिडिया
Contact Us
युनिकोड
जेनेभा । यमनमा भएको द्वन्द्वका क्रममा अहिलेसम्म कम्तीमा १० हजार बालकालिकाको मृत्यु भएको र घाइते भएको पाइएको छ । गत सातवर्षदेखि जारी द्वन्द्वका क्रममा बालबालिका नै धेरै पीडित भएको विवरण संयुक्त राष्ट्रसङ्घीय निकाय युनिसेफले सार्वजनिक गरेको हो । यमनमा खटिएको राष्ट्रसङ्घीय मिसनले जेनेभा फर्किएर सार्वजनिक गरेको विवरणमा बालबालिकाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । “सन् २०१५ देखि सुरु भएको द्वन्द्वका कारण यमनमा घाइते भएका र मृत्यु भएका बालबालिकाको सङ्ख्या १० हजारभन्दा बढीरहेको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रसङ्घीय निकायका एक जना प्रवक्ताले प्रतिवेदनको सारंश प्रस्तुत गर्दै अवस्था चिन्ताजनक हुँदै गएकाले द्वन्द्व अन्त्य गर्न पनि सरोकारवालाहरूलाई आह्वान गरेका छन् । द्वन्द्वबाट पीडित भएकाहरूका लागि सयौँ लाख रूपैयाँ सहयोगको खाँचो रहेकोमा पनि राष्ट्रसङ्घीय अधिकारीहरूले जोड दिएका छन् । “प्रत्येक पाँचमध्ये चार बालबालिकालाई मानवीय सहायताको आवश्यकता देखिएको छ, त्यस्ता बालबालिका एक करोड १० लाखभन्दा बढीरहेका छन्,” प्रतिवेदनमा लेखिएको छ । द्वन्द्वकै कारण चार लाखभन्दा बढी बालबालिकालाई कुपोषणको समस्या देखिएको छ भने २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेका छन् ।– एएफपी