सोसल मिडिया
Contact Us
युनिकोड
वासिङटन । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ । यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको तर सो वार्तामा आफू सहभागी नहुने अफगान विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन्, केही प्राविधिक कारणले गर्दा रुसले आयोजना गरेको त्यस वार्तामा हामी सहभागी हुन सक्दैनौँ । तर ती के प्राविधि कारण हुन् भन्ने बारेमा भने उनले केही बताएका छैनन् । उता रुसका विदेशमन्त्रीले भने यसै हप्ता रुसले अफगानिस्तानका विषयमा वार्ताको आयोजना गरेको र त्यसमा अमेरिकालाई पनि आमन्त्रण गरिएको जानकारी दिएका छन् ।
जी–२० शिखर सम्मेलनका लागि रुसी राष्ट्रपति पुटिन रोम नजाने
विश्वका प्रमुख प्रभावशाली राष्ट्रहरूको शिखर सम्मेलनका लागि रुसी राष्ट्रपति सम्मेलनस्थलमा उपस्थित नहुने भएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलन स्थलमा नजाने निर्णय गरिसकेको राष्ट्रपतिको कार्यालय क्रेमलिनले मङ्गलबार जानकारी दिएको छ । कोरोनाभाइरसको महामारीका कारण सम्मेलनमा भौतिक रूपमा उपस्थित हुन नसक्ने राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । स्थलगत उपस्थितिको सट्टामा राष्ट्रपति पुटिनले अनलाइनबाट नै सम्मेलनमा सहभागिता जनाउनु हुने भएको वक्तव्यमा जनाइएको छ । पुटिनले भौतिकरूपमा सम्मेलनमा सहभागिता जनाउन नसक्ने र अनलाइनबाट सहभागी हुने जानकारी सम्मेलनका आयोजकहरूलाई गराइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । बहुचर्चित जी–२०को शिखर सम्मेलन यही अक्टोबर ३० र ३१ मा इटलीको राजधानी रोममा हुने तय भएको छ । त्यसैले राष्ट्रपति पुटिनले इटलीका प्रधानमन्त्री मारियो ड्राघीलाई नै आफ्नो निर्णयका बारेमा जानकारी गराएको रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले बताए । सम्मेलनमा अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सीको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र अमेरिकाका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम छ ।–सिन्ह्वा