सोसल मिडिया
Contact Us
युनिकोड
बझाङ : थलारा गाउँपालिका- ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा तल्लो डिख्ला र दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सातवटा घर पुरिएका छन् ।
स्थानीयका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना रहेका छन् । गगने सार्की भने रोजगारीका लागि भारतमा छन् । उनका माहिला छोरा काले सार्की मात्र सकुशल रहेका स्थानीयले बताएका छन् ।
बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु सार्की, धनगिरी सार्की, सीता सार्की, प्रवाश सार्की, भूमिका सार्की, चिरञ्जीवी सार्की, इस्सरा सार्की, संजीव सार्की, सविता सार्की, सरोज सार्की, शर्मिला सार्की, पम्मा सार्की, सुवास सार्की, विकास सार्की, एक जना नाम नखुलेका रहेका छन् भने मदन सार्की, कलुदेवी सार्की र एलिसा सार्की गरेर १८ जना रहेका छन् ।
यस्तै, नरे पार्कीका घरका उजली पार्की, आयुष पार्की, हिमा पार्की, सीमा पार्की गरेर पाँच जना रहेका छन् ।
तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि. महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको बताइएको छ ।
बिहानैदेखि प्रहरी, पत्रकारलाई फोन गर्न धेरै प्रयास गरेको तर नेटवर्कले काम नगरेका कारण सम्पर्क हुन नसकेको स्थानीयको भनाइ छ ।
बिहान ४ बजे सुतेकै समयमा पहिरो गएपछि केहीले भागेर ज्यान बचाएका र केही निदाएकै अवस्थामा पहिरोसँगै बेपत्ता भएका स्थानीय बताउँछन् । घटनास्थलसम्म पुग्ने बाटो असहज भएको र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका कारण प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न सकेका छैनन् । पानी निरन्तर परिरहेकाले बालबालिका र वृद्धवृद्धालाई समस्या भएको बताइएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा संचार सेवा अवरुद्ध भएको र बाढीले सडक अवरुद्ध भएका कारण उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।