बन्दुकधारीको आक्रमणमा परी कम्तीमा ३० को मृत्यु

सोमबार, कात्तिक १, २०७८

लागोस । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।  देशको उत्तरपश्चिम क्षेत्रमा पर्ने सोकोटो राज्यमा आइतबार राति बन्दुकधारीहरूले आक्रमण गरेको सरकारी अधिकारीहरूले सोमबार जनाएका छन् । 
प्रदेश गर्भनर अमिनु वाजिरी ताम्बुवालले सोमबार जारी गरेको वक्तव्यका अनुसार प्रदेशअन्तर्गतको गोरोन्यो सहरमा उनीहरूले आक्रमण गरेका हुन् । 
“आक्रमणस्थलमा गोरोन्यो स्थानीय सरकारको मुख्य कार्यालय रहेको थियो, घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ,” वक्तव्यमा लेखिएको छ ।
प्रत्यक्षदर्शीहरूले मोटरसाइकलमा १५० देखि २०० को सङ्ख्यामा आएका आक्रमणकारीहरूले आक्रमण गरेर भागेको जानकारी दिएका छन् ।  
“आक्रमणकारीहरू मोटरसाइकलमा आएर बजारको भीडभाडमा पसे, अनि अन्धाधुन्द गोली चलाएर भागे,” एक प्रत्यक्षदर्शीले भने । 
आक्रमण गर्ने, हत्या गर्ने, अपहरण गर्ने लगायतका घटनाहरू धेरै हुँदै गएकाले यस क्षेत्रमा सुरक्षा चुनौती थपिँदै गएको स्थानीयको भनाइ छ । 
उनीहरूले घना बस्ती भएको यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न पनि सरोकारवालाहरूसँग माग गरेका छन् ।  
नाइजेरियाका विभिन्न ठाउँमा पछिल्लो समय बन्दुकधारीहरूको आक्रमणका घटना बढ्दै गएको पाइएको छ ।–एएनआई
 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  २१:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार