अफगानिस्तानका छात्रा चाँडै विद्यालय जान पाउने तालिबानको दाबी

सोमबार, कात्तिक १, २०७८

काबुल । अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको तालिबान समूहले छात्रालाई चाँडै विद्यालय फर्काउने व्यवस्था गर्न लागिएको दाबी गरेको छ ।  छात्रालाई विद्यालय जान प्रतिबन्ध लगाएको भन्दै संसारभरबाट विरोध र आलोचना भएपछि तालिबान समूह यस्तो दाबी गरेको हो ।  वर्तमान विश्वमा विद्यालय जान पाउनुपर्ने अधिकारलाई आधारभूत मानवअधिकार मानिएकाले उनीहरूलाई तत्काल विद्यालय फर्किने वातावरण बनाउन विश्वभरीबाट माग हुँदै आएको थियो । 
अफगानिस्तानमा तालिबान सरकार बनेपछि छात्रलाई अध्ययन अध्यापनका लागि जान दिइएको तर छात्रालाई भने नदिइएको भन्दै सर्वत्र विरोध हुँदै आएको छ ।  विरोध र आलोचना गर्नेहरूको दबाबका कारण अफगानिस्तानको तालिबान सरकारले छात्रालाई पनि विद्यालय जान पाउनेगरी व्यवस्था गर्न लागिएको स्पष्ट पारेको छ । 
तालिबान सरकारको गृह मन्त्रालयका एक जना प्रवक्ताले कहिलेदेखि छात्रालाई विद्यालय खुल्ला हुन्छ भन्ने एकिन मिति भन्न नसकिए पनि चाँडै हुने दाबी गरेका छन् । 
“मलाई जानकारी भएसम्म वा मैले बुझेसम्म धेरै छोटो समयमै विद्यालय तथा विश्वविद्यालयहरूमा छात्रा तथा महिला विद्यार्थीहरूलाई पठनपाठनको व्यवस्था हुनेछ,” एक अधिकारीले भने ।  
त्यसैगरी विद्यालय तथा विश्वविद्यालयका महिला कर्मचारी तथा शिक्षिकाहरूलाई पनि काम गर्न अनुमति दिइएको उनले बताए । 
केही समय अगाडि अफगानिस्तानका शिक्षिकाहरूले विद्यालय तथा विश्वविद्यालयमा छात्रहरूका लागि पठनपाठन सुरु हुँदा पनि आफूहरूको रोजगारीको निरन्तरता नभएको भन्दै चिन्ता व्यक्त गरेका थिए । 
उनीहरूले रोजगारीको निरन्तरता नभएकाले पारिवारिक, आर्थिक तथा मनोवैज्ञानिक समस्यासमेत उत्पन्न भएको बताएका थिए ।  
यसअघि सन् १९९६ देखि २००१ सम्म तलिबान सरकारले कठोर तथा अनुदार शासन व्यवस्था लागू गरेकाले अहिले पनि त्यस्तै कठोर र अनुदार शासन व्यवस्था लागू हुने हो कि भन्ने चिन्ता धेरैले गरेका छन् । 
अधिकारकर्मी तथा उदारवादीहरूले अनुदार नहुन तालिबान समूहलाई अनुरोध गर्दै आएका छन् भने तालिबान अधिकारीहरूले आफूहरू कठोर नहुने जवाफ दिँदै आएका छन् । तर अहिलेसम्म पनि उदार व्यवस्था लागू हुनेमा धेरैले आशङ्का नै गरेको पाइएको छ ।–एएनआई 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार