बैतडीका नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह

सोमबार, कात्तिक १, २०७८

बैतडी :  लगातारको वर्षाका कारण महाकाली नदिमा पानीको बहाव बढेकाले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

आइतबार साँझदेखि सुरु भएको वर्षा अझ दुई दिनसम्म जारी रहने भनिएकाले नदीमा पानीको बहाव बढ्दा जोखिम हुने भन्दै सर्तकता अपनाउन आग्रह गरिएको हो । 

तटीय क्षेत्रमा पर्ने स्थानीय तहहरूका अधिकारीलाई आआफ्नो क्षेत्रमा सर्तकताका लागि सूचना जारी गर्न भनिएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । 

बैतडीको महाकाली तटीय क्षेत्रका स्थानीय तहहरूमा दशरथचन्द नगरपालिकाका साथै शिवनाथ, दोगडाकेदार र पञ्चेश्वर गाँउपालिका रहेका छन् । 

यसैगरी, जिल्लाको सिगास गाउँपालिकाका केही वडाहरू सेती नदी तटीय क्षेत्रमा रहेका छन् भने डिलाशैनी गाँउपालिकाको केही भूभाग चौलानी नदी तटीय क्षेत्रमा रहेको छ ।

यसैगरी, सूर्नया गाउँपालिका, पाटन नगरपालिका मेलौली नगरपालिका  शिवनाथ गाउँपालिकाका केही भूभाग सूर्नया नदीको तटीय क्षेत्रमा पर्दछन् । नदीहरूको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा नजान सबैलाई आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

यद्यपि, अहिलेसम्म नदीको बहाव खतराको सतहसम्म भने पुगेको छैन । तर, अझै तीन दिनसम्म लगातार वर्षा जारी रहने मौसमविद्ले बताएका छन् ।    

भीमदत्त राजमार्ग अवरुद्ध
    
गएरातिदेखिको लगातारको वर्षाका कारण यहाँका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त राजमार्गको भासु भिरमा ठूलो पहिरो आउँदा बिहानैदेखि यातयात अवरुद्ध भएको हो । पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालयको डोजरले बिहानैदेखि काम गरिरहे पनि वर्षा नरोकिएका कारण पहिरो पन्छाउन सकिएको छैन । राजमार्ग अवरुद्ध भएपछि अहिले उक्त क्षेत्रमा सवारीसाधन र यात्रु अलपत्रमा परेका प्रहरीले जनाएको छ ।

सचेत रहन आग्रह
जिल्लामा दुई दिनदेखि लगातार भारी वर्षा भइरहेकाले यहाँको सेती नदी आसपासका नागरिकलाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ । वर्षाका कारण नदीमा पानीको बहाव बढ्दै गएकाले विपद् आउन सक्ने भन्दै नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए ।
उनले भने, “भारी वर्षाले नदीमा पानीको बहाव बढेको छ, दुर्घटना हुनसक्ने भएकाले सबैलाइ सचेत रहन आग्रह गरेका छौँ ।” मौसम पूर्वानुमान महाशाखाले पनि सेती नदीमा पानीको सतह बढ्न गई बाढी आउनसक्ने जनाएकाले सतर्क रहन आग्रह गरेको छ । 
भारतको आन्ध्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमीवायु प्रणालीको संयुक्त प्रभावले सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उक्त शाखाले जनाएको छ ।  केही स्थानमा मेघगर्जन, चट््याङ, हावाहुरीसहित भारी वर्षाको सम्भावना भएको हुँदा सम्पूर्ण नागरिक तथा सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रशासनले सूचनासमेत जारी गरेको प्रजिअ विष्टले जानकारी दिए ।
 

वर्षाका कारण कतै राहत, कतै घात 

आइतबारदेखि परेको अविरल वर्षाका कारण कतै राहत भएको छ भने कतै घात भएको छ । नल र धान  छुट्याउनका लागि तयारी हालतमा राखिएको धानका बालाहरू भारी पानीका कारण नलसँगै कुहिन थालेको छ ।

धानको बोट काटेर बालाबाट गेडाहरू भित्र्याउन ठिक्क पारेको समयमा पानी पर्दा समस्या भएको हो । अर्कोतिर मकै भित्र्याएर गहुँ , तोरी र तरकारी बालीलाई भने फाइला भएको छ ।

आकाशे पानीको भरमा लगाएको हिउँदेबालीमा पानी पर्दा राहत भएको नलगाड नगरपालिका-८ का वीरबहादुर खत्रीले बताए । पाखो बालीहरू आकाशे पानीकै भरमा लगाइन्छ । यो समाचार तयार पर्दासम्ममा पानी निरन्तर परिरहेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार