बैतडीको ससधारा धाम ओझेलमा

सोमबार, कात्तिक १, २०७८

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–३ पङ्सेरामा रहेको ससधाराधाम संरक्षणको अभावले ओझेलमा परेको छ । ससधारा धाममा  विगतमा दर्शनार्थहरूको घुइँचो लाग्ने गरेको भए पनि अहिले धाम नै अझेलमा परेको छ । चौलानी नदिको किनारमा अवस्थित ससधारा धामको छेउमा सुन्दर गुफा र झरना छ । झरनाका एक सयभन्दा बढी धारहरू भएकाले धामको नाम ससधारा राखिएको बताइन्छ । उक्त धामकोमाथि पट्टी गोकुलेश्वर–गन्ना सडकखण्ड निर्माण भएदेखि धाम पायक नपर्ने ठाउँमा रहेकाले त्यहाँ पुग्ने दर्शनार्थी घटेको पाइन्छ । ससधारा धामसम्म पुग्ने सजिलो बाटोसमेत छैन । धामको संरक्षण तथा प्रचार प्रसार गर्न नसकिएकाले ओझेलमा परेको स्थानिय धनिराम ओडले बताए । ससधारा धाममा विवाह, व्रतबन्धजस्ता शुभकार्यहरू गरिँदै आएको उनले बताए । ससधारा धाममा शिवरात्रीका दिन मेला लाग्ने गरेको छ भने भारतको हरिद्धार पुग्न नसक्ने तिर्थयात्रीहरू ससधारा धाममा पुग स्नान गर्ने गरेका छन् । उक्त धाममा पुग्नु ठूलो तीर्थस्थल पुगेसरह मान्ने गरिएको छ ।  उक्त धामको पारीपट्टी अपी जलविद्युत् आयोजनासमेत रहेकाले धामको संरक्षण र प्रचारप्रसार गर्न सके पर्यटक भित्र्याउन सकिने उनले बताए । ससधारा धाम निकै रमणीय ठाउँमा अवस्थित रहेको स्थानीय शिक्षक प्रमानन्द भट्टले बताए । धामसम्म पुग्ने पदमार्ग निर्माण गरि धामको संरक्षणमा सरोकारवाला निकायको ध्यान जानुपर्ने उनले बताए ।  ससधारा धामको संरक्षण तथा प्रवर्द्धनका लागि संघीय सरकार र डिलाशैनी गाउँपालिकाले बजेट विनियोजन गर्ने आश्वासन दिएको स्थानियवासी बताउँछन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार