रक्षामन्त्री रिजाल आर्मी हेड क्वाटर पुगे 

आइतबार, असोज ३१, २०७८

काठमाडौँ । रक्षामन्त्री डा मीनेन्द्र रिजालले सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । प्रधान सेनापति प्रभुराम शर्माले उनलाई स्वागत गर्दै नेपाली सेनालाई सरकारबाट प्राप्त भइरहेको निर्देशन तथा सहयोगका लागि आभार व्यक्त गरे । 
सो अवसरमा रक्षामन्त्री रिजालले नेपाली सेनाले विपद् व्यवस्थापन र कोभिड–१९ महामारी विरुद्धको प्रतिकार्य तथा विश्व शान्ति स्थापनार्थ निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । 
आफ्नो कार्यकालभरि राष्ट्रिय सुरक्षाको प्रवद्र्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्नशील रही सेनाले प्राथमिकतामा राखेका कार्य कार्यान्वयनमा स्रोतको सुनिश्चितताका लागि हरसम्भव प्रयत्न हुने उनले बताए ।
प्रधान सेनापति महारथी शर्माले रक्षामन्त्री डा रिजालको नेतृत्व र निर्देशनमा सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा विशेष टेवा पुग्ने विश्वास व्यक्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधान सेनापति शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको विश्वास दिलाए ।
सो अवसरमा मन्त्री रिजाललाई नेपाली सेनासम्बन्धी विविध पक्षमा केन्द्रीत रही प्रस्तुतीकरण भएको थियो । सो अवसरमा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालसहित मन्त्रालयका प्रतिनिधिको उपस्थिति थियो ।
 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार