सरकारी कार्यालय खुले, उपत्यकामा चहल पहल बढ्यो  

आइतबार, असोज ३१, २०७८

काठमाडौँ । बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ ।  आज सरकारी तथा निजी कार्यालय सञ्चालनमा आएकाले काठमाडौँ उपत्यकामा सवारी साधनको केही चाप बढेको छ । दसैँमा सुनसान प्रायःबनेको काठमाडौँमा नियमितजसो सबै प्रकारका सेवा सञ्चालनमा आएका छन् ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बाक्लिएको छ । सबैजसो मन्त्रालयमा मन्त्री, कर्मचारी तथा आगन्तुकको बाक्लो उपस्थिति देखिन्थ्यो । विभिन्न मन्त्रालयका मन्त्री पनि कार्यालय पुगेर नियमित काममा व्यस्त देखिन्थ्ये । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मन्त्रालय पुगेर नियमित काममा व्यस्त रहेको उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । अन्य विभागीय मन्त्री पनि नियमित काममा व्यस्त भएका छन् ।
दसैँको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिनेक्रम जारी रहेको छ । विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका लगाउने चलन छ । काठमाडौँ उपत्यकामा पनि दसैँको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लोरूपमा देखिएको छ । उपत्यकामा औषधि, खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन् ।
 महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौँ उपत्यकामा दसैँको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ । बाक्लो सङ्ख्यामा सवारी साधन चले पनि ट्राफिक जाम नरहेको ट्राफिक प्रहरीको भनाइ छ ।
दसैँ मनाउन गाउँघर गएका सर्वसाधरण पनि धमाधम काठमाडौँ भित्रिरहेका छन् । कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुलगायत नाकामा दसैँ मनाएर राजधानी फर्कनेको भिडभाड देखिन्छ । मानिवसको चहलपहल र सवारीसाधनको आवतजावत तथा बजार पसल पनि क्रमशः खुल्न थालेकाले राजधानी काठमाडौँ पुरानै लयमा फर्कन थालेको अनुभूति हुन्छ ।
सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् ।  सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार  दसँैंका लागि भनेर २०७८ वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर आज पनि बिदा दिने निर्णय गरेको थियो । बैठकले सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ ।  

 
 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार