पुरिएको पोखरीमा फाउण्टिन पार्क निर्माण

आइतबार, असोज ३१, २०७८

खोटाङ :  खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीमा लोहोकिल (फाउण्टिन) पार्क निर्माण गरिएको छ । स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम, गाउँपालिकाको बजेट तथा उपभोक्ता समितिको श्रमदान गरी कुल २४ लाख २९ हजार ७०६ रुपैयाँको खर्चमा सिमपानी लोहोकिल (फाउण्टिन) पार्क निर्माण गरिएको हो । सिमपानी बजारको पर्यटन प्रवर्द्धनका लागि लोहोकिल (फाउण्टिन) पार्क निर्माण गरिएको  हाे  ।

२०१६ सालमा बनेको पुरानो पोखरी सिमपानी बजार विस्तारका क्रममा पुरिएपछि सोही ठाउँमा लोहोकिल (फाउण्टिन) पार्क बनाइएको हो । आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणका लागि पुरिएको पोखरीलाई पुनर्जिवित गर्दै बीचमा राखिएको ढुंगाको आकृतिबाट पानीको फोहरा निस्कने पोखरी सहितको पार्क बनाइएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

सिमपानी बजार विस्तारका क्रममा पुरानो पोखरी पुर्नुका साथै पोखरीछेउमा रहेको वरपिपलको रुख ढालिएको थियो । बजारको सौन्दर्यकरण गर्दै पर्यटकलाई आकर्षित गर्ने र घुमफिर गर्ने व्यवस्थाका लागि लोहोकिल (फाउण्टिन) पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । 

लोहोकिल (फाउण्टिन) पार्क निर्माणका क्रममा स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रमबाट विनियोजित १४ लाख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष रोजगार कार्यक्रमको ७ लाख ५० हजार बजेट खर्च गरिएको छ । पार्क निर्माण योजनाका लागि उपभोक्ता समितिबाट (१० प्रतिशत) २ लाख ५० हजार ५८१ रुपैयाँ बराबरको श्रमदान जुटाइएको गाउँपालिका अध्यक्ष राईले बताए ।

‘पहिला पोखरी र वर पिपलको बोट थियो । बजार विस्तारका क्रममा पोखरी पुरिए । वरपिपलको रुख ढालिए,’ अध्यक्ष राईले भने, ‘बजारको गुमेको सौन्दर्य फर्काउने प्रयास गरिएको हो । पुरिएको पोखरीलाई पुनर्जिवित गराएर ढुंगाको आकृतिबाट पानीको फोहोरा निस्कने संरचना बनाइएको छ ।’ 

उपभोक्ता समितिका अध्यक्ष नितेश खड्काको अध्यक्षतामा भएको लोहोकिल (फाउण्टिन) पार्क उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष कविता राई, एमालेका जिल्ला कमिटी सचिवालय सदस्य राजन बञ्जरा, पूर्वगाविस अध्यक्ष दिपबहादुर राई लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  ०६:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार