हेटौँडामा बसको ठक्करबाट दुई युवाको मृत्यु 

शनिबार, असोज ३०, २०७८

हेटौँडा :  मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ । 

नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हेटौंडा १५ पनेसका  १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ को २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको प्रहरीको भनाई छ ।  मृत्यु भएका दुवै जना स्थानीय रहेको प्रहरीले जनाएको छ ।

सप्तरी दुर्घटनामा एक जनाको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकास्थित मिलनचौकमा मोटरसाइकलाई बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार सप्तरीको बलान बिहुल गाउँपालिका–६ रौतहटका ४० वर्षीय प्रमोद मण्डल रहेका सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्ले जानकारी दिएका छन्।

ठक्करबाट गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा सनिवार  दिउँसो मृत्यु भएको हो ।

बैतडीमा जिप दुर्घटनाका गम्भीर घाइते चारजना धनगढी रिफर

बैतडीको बिन्द्रावनमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनामध्ये ४ जनालाई धनगढी रिफर गरिएको छ ।

जिल्लाको सिगास गाउँपालिका-१ बिन्द्रावन नजिक शुक्रबार राति जन्ती बोकेको से १ ज १७० नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका ६ जना घाइते सुर्नया गाउँपालिका ८ का २१ वर्षीय तेज बोहरा, ३० वर्षीय प्रकाश बोहरा, १४ वर्षीय सुशील बोहरा र सिगास गाउँपालिका ४ का २० वर्षीय भरत सिंह बोहरालाई धनगढी रेफर गरिएकाे हाे । 

उनीहरूको कैलालीस्थित पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।  घाइतेमध्ये दुईजनाको डडेल्धुरामा उपचारपछि घर पठाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार