काश्मिरमा सरकार र विद्रोहीको हिंसाको चपेटामा सर्वसाधारण

बिहीबार, असोज २८, २०७८

काश्मिर । भारत प्रशासित काश्मिरमा सरकारी फौजको बढ्दो दमन र विद्रोहीको आक्रमणको चपेटामा सर्वसाधारण मानिस परेका छन् । एउटा सशस्त्र समूहले हिंसात्मक गतिविधि तीब्र पारेपछि सरकारले त्यसलाई दबाउने क्रममा सर्वसाधरण नागरिकसमेत पीडित बनेका हुन् । विद्रोही समूहको आक्रमणमा एक सातामा सात सर्वसाधरणको मृत्यु भइसकेको छ भने विद्रोह दबाउने क्रममा सरकारले ५ सय सर्वसाधारण पक्राउ गरेको छ । प्रतिबन्धित लडाकु समूहसँग साँठगाँठ गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । तर, सरकारको दाबीलाई पक्राउ परेका व्यक्तिका आफन्तजनहरूले भने अस्वीकार गर्दै आएका छन् । आफूहरूबिरुद्ध सुराकी गरेको आरोपमा सो समूहले सर्वसाधरणको हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । हत्या गरिएका व्यक्ति भारतीय सेनाका पूर्वसैनिक रहेको विद्रोहीको दाबी छ । हत्या गरिएकामध्ये हिन्दु र शिख समुदायका दुई जना शिक्षकसमेत छन् ।  सन् २०१९ को अगस्टमा मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले  मुसलमानहरूको बाहुल्यता रहेको कश्मीरको अर्धस्वायत्त अधिकार खोसिदिएपछि त्यहाँ हिंसात्मक द्वन्द्वका घटना बढेका छन् । मोदी सरकारले जम्मू–कश्मीर राज्यको विशेष संवैधानिक मान्यता खारेज गरी दुई अलग अलग राज्यमा विभाजित गरेर केन्द्रबाट शासन चलाएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार