जो बाइडनले लिए अमेरिकी राष्ट्रपतिको शपथ 

कमला ह्यारिस उपराष्ट्रपति
बिहीबार, माघ ८, २०७७

वासिङ्टन । जो बाइडनले अमेरिकाका ४६औँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण गरेका छन् । उनलाई सर्वाेच्च अदालतका न्यायाधीश जन रोबट्र्सले शपथ ग्रहण गराएका थिए । कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको शपथ लिएकी छन् । उनी उक्त पदमा निर्वाचित प्रथम महिला हुन् ।
शपथ लिइसकेपछि आफ्नो पहिलो टिप्पणी गर्दै राष्ट्रपति बाइडनले भने, ‘यो प्रजातन्त्रको दिन हो । प्रजातन्त्र निकै बहुमूल्य हुन्छ भन्ने हामीले जान्न पाएका छौँ । यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ ।’ नयाँ राष्ट्रपतिले समारोहमा उपस्थित दुवै पार्टीका आफ्ना पूर्ववर्ती राष्ट्रपतिहरूलाई धन्यवाद पनि दिएका थिए । बाइडनले राष्ट्रपतिको रूपमा गरेको पहिलो भाषणमा आफूले सामना गर्ने ठूला चुनौतीहरूका बारेमा बोलेका छन् । ‘विनाशकारी महामारी, व्यापक रूपमा बढेको बेरोजगारी, जोखिममा परेको वातावरण, जातीय समानतासम्बन्धी न्यायको लागि भैरहेको माग र पुनः चर्किएको राजनीतिक अतिवाद’ बाइडेनका मुख्य चुनौती हुन् । यी समस्याका बारेमा बाइडनले आफ्नो समाधानको सूची प्रस्तुत त गर्ने छन् नै तर राष्ट्रपतिको रूपमा पहिलो सम्बोधन गर्दै उनले प्रस्तुत गरेका उपाय हो : राष्ट्रिय एकता ।
ह्यारिसलाई सर्वाेच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले शपथ ग्रहण गराएकी थिइन् ।


निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना उत्तराधिकारीको शपथ ग्रहण समारोहमा भाग नलिने पूर्वघोषणा बमोजिम नै सहभागिता जनाएनन् । आफ्ना उत्तराधिकारीको शपथ ग्रहण समारोहमा उपस्थित नहुने उनी चौथो अमेरिकी राष्ट्रपति हुन् । तर उनका उपराष्ट्रपति माइक पेन्स भने समारोहमा उपस्थित थिए । समारोहमा पूर्वराष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्लु बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टनलगायतका पाहुना उपस्थित थिए ।
डेमोक्रेटिक सिनेटर एमी क्लोबुचरले स्वागत मन्तव्य दिँदै ‘आजको दिन आफूहरूको प्रजातन्त्रले आफूलाई लडेको भूईंबाट आफै उठाएको दिन हो’ भनेकी छन् ।

ह्वाइट हाउसबाट ट्रम्पको बहिर्गमन, बाइडेनको प्रवेश 

बाइडनको शपथसँगै अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बुधबार बाहिरिएका छन् । 
लामो समयदेखिको परम्परालाई तोड्दै उनले नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभई ह्वाइट हाउसबाट बाहिरिएका हुन् । यसअघि नयाँ राष्ट्रपतिलाई निवर्तमान राष्ट्रपतिले स्वागत गर्दै आफूले ह्वाइट हाउस छाड्ने परम्परा थियो । चर्चित व्यवसायीसमेत रहेका ७४ वर्षीय ट्रम्पको बहिर्गमनसँगै अमेरिकी इतिहासमा अत्यधिक विवाद र चर्चामा रहेको ट्रम्पको चारवर्षे कार्यकाल सकिएको छ । ट्रम्पको ठाउँमा उनका उत्तराधिकारीको रूपमा राष्ट्रपति बनेर जो बाइडनको प्रवेश भएको छ । अमेरिकाको स्थानीय समयअनुसार बुधबार बिहान ८.१५ बजे ट्रम्प श्रीमतीसहित बाहिरिएका हुन् । हेलिकोप्टरमा चढेर ट्रम्प फ्लोरिडा गएका छन् । कार्यालयबाट बाहिरिनु अघि भएको भेलामा उनले भने, ‘म केबल गुडबाई भन्न चाहन्छु, ह्वाइट हाउसमा रहँदाको समयअवधिलाई जीवनभरी स्मरण गरिरहने छु, यो अविश्मरणीय छ ।’ 


पूर्व उपराष्ट्रपतिसमेत रहेका नवनिर्वाचित राष्ट्रपति ७८ वर्षीय बाइडनले दिउँसो शपथग्रहण गरिरहेका बेला ट्रम्प भने फ्लोरिडास्थित आफ्नो रिसोर्टमा बसेका थिए । निकै प्रतिस्पर्धात्मक भएको चुनावमा धाँधली भएको भन्दै ट्रम्पले आफ्नो कार्यकालका अन्तिम दिनहरूमा अमेरिकी लोकतन्त्रकै आधारमाथि प्रहार गरेका थिए । अमेरिकी निर्वाचन प्रणालीलाई तेस्रो विश्वका देशसँग तुलना गरेका ट्रम्पले औपचारिक रूपमा हार स्वीकार नगर्ने मात्र होइन, आफ्ना प्रतिद्वन्द्वी बाइडनलाई जीतका लागि बधाइसमेत नदिई बिदा भएका छन् । – एएफपी

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ०४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार