मन्त्री भएको चार दिनै श्रममन्त्री किसान श्रेष्ठले सार्वजनिक गरे सम्पत्ति विवरण 

काठमाडौँका तीन स्थानमा जग्गा, कामपा–३ मा साढे दुई तलाको घर र धापासीमा सात तलाको व्यावसायिक घर
मंगलबार, असोज २६, २०७८

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रीमा नियुक्त भएको चार दिनमै श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 
नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । उनले सार्वजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको उल्लेख छ । काठमाडौँ महानगरपालिका–९ मा कित्ता नम्बर ११४, ०–८–०–० क्षेत्रमा र खरिद मूल्य ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसा रहेको उल्लेख छ ।
त्यस्तै काठमाडौँ–३ मा कित्ता नम्बर १०८, ४२९.१४ क्षेत्रमा र खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौँ–१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा र खरिद मूल्य ६९ लाख रहेको उल्लेख छ ।

उनले आफ्नो दुई घर रहेको सार्वजनिक गरेका छन् । काठमाडौँ महानगरपालिका–३ मा साढे दुई तलाको घर र काठमाडौँ–९ धापासीमा सात तलाको व्यावसायिक घर रहेको जनाएका छन् । उनले सेयर विवरणमा आफ्नो विभिन्न कम्पनीमा सेयर लगानी रहेको उल्लेख गरेका छन् । दुई करोड १७ लाख २४ हजार ४०० मूल्य बराबरको सेयर लगानी रहेको विवरणमा उल्लेख छ ।

त्यस्तै उनले २० वटा व्यावसायिक कम्पनीहरूमा रु १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गरेको उल्लेख छ । हाल मौज्दातमा रहेको घर तथा जग्गा विवरणमा जम्मा रु नौ करोड ६९ लाख ७३ हजार ५० मूल्य बराबरको रहेको उल्लेख छ ।
गरगहनामा मन्त्री श्रेष्ठले विवाह दाइजोमा पाएको २० तोला सुन र खरिद गरेको ५० तोला सुन भएको बताएका छन् । उनले बैंक खाता विवरणमा आठ वटा बैंकमा आफ्नो पैसा रहेको खुलाएका छन् ।    
उनले प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बङ्गलादेश बैंकमा आफ्नो खाता रहेको बताए । त्यस्तै उहाँको श्रीमतीको नाममा भने ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको उल्लेख छ । श्रेष्ठ नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  ०५:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार