पहिरोबाट ज्यान गुमाएका परिवारको घरमै पुगेर राहत

आइतबार, असोज २४, २०७८

गुल्मी : गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पहिरोबाट ज्यान गुमाएका परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेका छन् । उनले आइतबार साँझ ७ बजेतिर रेसुंगा नगरपालिका-८ का तिलक परियारको घरमा पुगेर राहत प्रदान गरेका हुन् । 

प्रमुख जिल्ला अधिकारी पौडेल विपद् उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम सरकारबाट प्रदान गर्ने नगद चार लाख रुपैयाँ लिएर परियारको घरमै पुगेका थिए । 

चाडपर्व नजिक परिवार गुमाएको पीडालाई केही भए पनि राज्यको तर्फबाट कम गर्न राहत बोकेर घरमै पुगेको पौडेलले बताए । उनले परिवारका आफन्त गुमाउँदाको स्वाभाविक पीडा हुने भए पनि जीवन जिउनको लागि भुल्नुको अर्को विकल्प नभएको बताए । 

‘राहतले दुःखमा राज्यको अनुभूति दिलाउने काम मात्रै गर्छ,’ उनले भने,‘शोकलाई शक्तिमा बदल्नुपर्छ ।’ सोही अवसरमा रेसुंगा नगरपालिका-८ का वडाध्यक्ष भरत भलामीले गुल्मी सेवा समाज जापानमार्फत प्राप्त २ लाख २८ हजार ५ सय २८ रुपैयाँ पीडित परिवारलाई प्रदान गरेका थिए । सो रकम जापानमा रहेका ७२ जना गुल्मेलीहरूले संकलन गरेर पठाएका थिए । 

रकम हस्तान्तरण गर्दै भलामीले छिट्टै पहिरोले भत्किएको घरको पुनर्निमाणको काम गरिने जानकारी दिए । गत असोज ५ गते रातिको पहरोमा पुरिएर तिलक परियारका ३ छोरी १४ वर्षीया गंगा, जमुना र २१ वर्षीया भावना परियारको ज्यान गएको थियो ।

भतिजद्वारा काकीको हत्या

गुल्मीको उर्लेनीमा भतिजले काकीको हत्या गरेका छन् । काकी रेसुंगा नगरपालिका-१३ दुविचौरकी ५६ वर्षीया पार्वती विकलाई २५ वर्षीय भतिज  प्रकाश विकले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए । 

चिर्पट प्रहारबाट गम्भीर घाइते विकको गुल्मी अस्पताल तम्घासमा उपचारको क्रममा ज्यान गएको हो । हत्या आरोपित विकलाई प्रहरीले नियन्त्रण लिएको जनाएको छ । आज अबेर भएकाले शवको पोस्टमार्टम मंगलबार गरिने प्रहरी जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार