पत्रकार बाँस्कोटाको कवितासङ्ग्रह ‘ढुंगाको प्रेम’ लोकार्पण

आइतबार, असोज २४, २०७८
डिस होम विज्ञापन
Global Ime Bank

पाँचथर : नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्षसमेत रहेका कवि गिरिराज बाँस्कोटाको कवितासङ्ग्रह ‘ढुंगाको प्रेम’ आज लोकार्पण गरिएको छ । 

केञ्जोखबर डटकमले फिदिममा आयोजना गरेको कृति विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा इलामका साहित्यकार विमल वैद्यले उक्त कृति लोकार्पण गरे । शिखा बुक्सले प्रकाशन गरेको ७२ पृष्ठको कवितासङ्ग्रहमा बाँस्कोटाका २७ वटा कविता संगृहित छन् । झण्डै डेढ दशकदेखि सक्रिय पत्रकार बाँस्कोटाका यसअघि फुटकर रचनाहरू प्रकाशन भए पनि पहिलो कृतिका रूपमा कवितासङ्ग्रह बजारमा आएको हो । 

कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी ढुंगानाले कृति सानो भए पनि निकै महत्त्वपूर्ण र गहन भएको बताए । सबै कविताहरू मुक्त छन्दमा रचना गरिएका र कविताका धेरै तत्त्वहरू समावेश भएको कवितासङ्ग्रहले समाज रूपान्तरणका लागि राम्रो सन्देश दिएको ढुंगानाले बताए ।

आफूले गरेका अनुभूतिहरूलाई सबै कवितामा कुनै न कुनै रूपमा आकर्षक रूपमा प्रस्तुत गर्न सक्नु कविको सबल पक्ष देखिएको ढुंगानाले टिप्पणी गरे ।

बाँस्कोटाले कवितामा फोटो पत्रकारितामार्फत प्रकृतिको वर्णन र फोटोग्राफीको प्रस्तुतिका अनुभूति, प्रकृति र जीवनका सम्बन्ध, वर्गीय दृष्टिकोणको पक्षधरता, सामाजिक न्याय, प्रेमिल अनुभूति, आशावादिता तथा घायल प्रेमका सवाल एवं आर्तनादहरू आकर्षक रूपमा व्यक्त गरेको, रिपोर्ताजहरू, उच्च कल्पनाशीलता कवितामा देखिएको, शब्द तथा शैलीगत विशिष्टता उक्त कवितासङ्ग्रहमा रहेको ढुंगानाले टिप्पणी राखे । 

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार विमल वैद्यले पत्रकारका रूपमा जनता र भूगोलसँग हुने साक्षात्कार तथा अनुभूतिलाई बाँस्कोटाले आकर्षक रूपमा कविताको स्वरूप दिएको बताए । मानव जीवनका सबै रङहरूलाई कवितासङ्ग्रहमार्फत प्रस्तुत गर्नु र पत्रकारिता गर्दागर्दै कविका रूपमा पहिचान बनाउनु कविको क्षमता रहेको वैद्यको भनाइ छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालसहित साहित्यकारहरू नरेन्द्रकुमार केरुङ, प्रेम ओझा, राजेन्द्रकुमार जबेगु, शान्ता गौतम, मधुराज केरुङ, सन्देश सुब्बालगायतले समेत शुभकामना मन्तव्य व्यक्त गर्दै रचना वाचन गरे ।

यस क्रममा प्रजिअ ढकालले पाँचथरमा साहित्यिक क्षेत्रमा देखिएको सक्रियताले बहुआयामिक व्यक्तित्वहरू निर्माण गरेको आफूले पाएको बताए । यस्तै, फिदिम नगरपालिका- १ का वडा अध्यक्ष गजाधर भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमितिका उपाध्यक्ष लवदेव ढुंगानालगायतले पत्रकार बाँस्कोटालाई साहित्यिक जीवन सफलताको शुभकामना दिए ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार