बुटवल मोतीपुर औद्योगिक क्षेत्रमा प्रशासनले लगायो कर्फ्यु

आइतबार, असोज २४, २०७८

बुटवल : रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको अवस्था तनावग्रस्त बनेपछि रूपन्देही प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आइतबार अपराह्न ४ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकामा स्थिति नियन्त्रणभन्दा बाहिर जाने संभावना साथै सर्वसाधारणको शान्ति, सुरक्षाका लागि कर्फ्यू लगाइएको उल्लेख छ । 

प्रशासनले पूर्व तिनाउ नदी बुटवल उपममहानगरपालिका- १७ शिवनगरदेखि वडा- १८ सौरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खोतीयोग्य जमिन (बुटवल उपमहानगरपालिका- १७) उत्तर शिवनगर बस्ती बुटवल उपमहानगरपालिका- १७ सम्म, दक्षिण बुटवल उपमहानगरपालिका- १८ औद्योगिक करिडोरको अमिन (धन्दापुर मौरहियासम्म)लाई चार किल्ला तोकेको छ । 

औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह, प्रहरी र स्थानीयबीच झडप भएको थियो । स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोलीबाट तीन जना स्थानीय र तीन जना सशस्त्र प्रहरी गरी छ जना घाइते भएका छन् । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

औद्योगिक क्षेत्रको करिब साढे ८०० बिघा जग्गामध्ये ४०० बिघा जग्गा अतिक्रमण भएको छ । आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो ।

बुटवल वडा १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि राति टहराहरू भत्काइदिँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो ।

बुटवलको मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त, प्रहरीको गोली लागेर पाँच घाइते

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्ने विषयमा  विवाद बढ्दा स्थिति तनाग्रस्त बनेको छ । अतिक्रमकणकारीले हट्न नमानेपछि प्रहरीले गोली चलाएको छ । गोली लागेर पाँच जना घाइते भएका छन् ।

प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । यसअघि आइतबार बिहानै  प्रहरी र औद्योगिक क्षेत्रको जग्गा ओगटेर बसेकाहरूबीच दोहोरो झडप भएको थियो । औद्योगिक क्षेत्रको करिब साढे आठ सय बिघा जग्गामध्ये चार सय बिघा जग्गा अतिक्रमण भएको छ ।

आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो । झडपमा परी दुईजना घाइते भएका थिए । दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको स्थानीयको आरोप छ । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।

प्रशासनले तीन दिनदेखि राति टहरा भत्काइँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले बारम्बार हट्न आग्रह गर्दा पनि नमानेपछि सामान्य बल प्रयोग गरेको जनाएको छ ।

गत चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले प्रतिरोध गरेका थिए । आफूहरूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा थाहै नदिई औद्योगिक क्षेत्रको नाममा लगेको भन्दै स्थानीय आक्रोशित थिए । उक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा छ । औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरसमेत तयार भइसकेको अवस्थामा स्थानीयले अतिक्रमण रोकेका छैनन् ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार