सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । राष्ट्रपति निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसले जनवरी २० अर्थात आज राष्ट्रपति–उपराष्ट्रपति पदको शपथ लिनेछन् । शपथ लिएसँगै उनीहरुको चार वर्षे कार्यकाल आजैबाट सुरु हुनेछ । कानुनअनुसार जनवरी २० को दिन नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्छन् । प्रारम्भिक मन्तव्य ईसटीअनुसार बुधवार बिहान ११ः३० बजे (नेपाली समयानुसार राति १०ः१५ बजे) आरम्भ हुन्छ । जो बाइडन र कमला ह्यारिसको सपथग्रहण मध्यदिनमा हुनेछ । बाइडन त्यही दिन अलि पछि ह्वाइट हाउसमा प्रवेश गर्नेछन । त्यो उनको आगामी चार वर्षका लागि निवास हुनेछ । दुवै जना राजनीतिक परेडजस्तो देखिने सत्तारोहण समारोहमा शपथग्रहण गरेर मात्र ह्वाइट हाउस प्रवेश गर्नेछन् ।
कसरी हुन्छ सत्तारोहण ? अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई इनोग्यूरेशन भनिन्छ । उक्त समारोह राजधानी वासिङ्टन डीसीमा आयोजना हुन्छ । त्यसमा राष्ट्रपति निर्वाचितले पदको शपथको बेहोरा वाचन गर्छन् । संविधानको रक्षा गर्ने प्रतिबद्धता समेटिएको शपथ लिएपछि जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन् । सत्तारोहण समारोह त्यतिमै समापन हुने भए पनि केही समय त्यहाँ अरू कार्यक्रमहरू पनि हुनेछन् । कमला ह्यारिस पनि शपथ लिनेबित्तिकै उपराष्ट्रपति बन्नेछिन् । साधारणतया राष्ट्रपतिभन्दा पहिला उपराष्ट्रपतिले शपथ लिने चलन छ ।
सुरक्षा व्यवस्था कस्तो हुनेछ ? सत्तारोहण समारोहणमा विस्तृत सुरक्षा योजना बनाइएको हुन्छ । तर जनवरी ६ मा राष्ट्रपति ट्रम्प समर्थकहरूको भिडले अमेरिकी संसद्मा आक्रमण गरेपछि थप सुरक्षा व्यवस्था मिलाइएको छ । यो दिन वाशिङ्टन डीसीको अधिकांश क्षेत्र बन्द हुनेछन् । अमेरिकी गुप्तचर निकायले सुरक्षा योजनाको नेतृत्व लिएको छ र हजारौँ प्रहरीहरूलाई सहयोग गर्न नेशनल गार्डका झन्डै १५ हजार सुरक्षाकर्मी खटाउन लागिएको छ । वाशिङ्टन डीसीमा अहिले नै संकटकालको अवस्था छ । सुरक्षा प्रयासको नेतृत्व गरिरहेका एजेन्ट म्याट मिलरले संवाददाताहरूलाई एक वर्षभन्दा बढी समयदेखि उक्त समारोहको योजना बनाउने काम चलिरहेको बताए । बाइडनले परम्परानुसार बाहिर नै शपथग्रहण गर्ने अडान व्यक्त गरिरहेका छन् । यसपालि सहभागीको संख्या भने कटौती हुनेछ ।
ट्रम्प उपस्थित होलान् ? बहिर्गमन हुन लागेका राष्ट्रपतिले आफ्ना उत्तराधिकारीले शपथग्रहण गरेको हेर्ने अभ्यास छ । तर कहिलेकाहीँ त्यो परम्परा भङ्ग पनि हुनसक्छ । आफ्ना उत्तराधिकारी बाइडनको सत्तारोहण हेर्न राष्ट्रपति ट्रम्प नजाने भएका छन् । जनवरी ८ मा ट्वीट गर्दै उनले शपथग्रहण समारोहमा भाग नलिने उल्लेख गरेका थिए । त्यो दिन उनी आफ्नो फ्लोरिडास्थित निवासमा बस्ने अनुमान गरिएको छ । ट्रम्पका कतिपय समर्थकहरूले उनीहरूले बाइडनले शपथ लिएकै समयमा अनलाइनमार्फत राष्ट्रपति ट्रम्पको ‘दोस्रो सत्तारोहण’ को योजना बनाइरहेको उल्लेख गरेका छन् । फेसबुकमार्फत ६८ हजारभन्दा बढी मानिसले ट्रम्पप्रति समर्थन देखाउन उक्त कार्यक्रममा भाग लिने बताएका छन् । बराक ओबामा ट्रम्पको शपथग्रहण समारोहमा उपस्थित थिए । राष्ट्रपति ट्रम्पले शपथ लिँदा उनीसँग पराजित भएकी हिलरी क्लिन्टन उनका पति तथा पूर्वराष्ट्रपति बिल क्लिन्टनसहित समारोहमा उपस्थित थिइन् । अहिलेसम्म जम्मा तीन जना राष्ट्रपतिहरू, जन एडम्स, जन क्वीन्सी एडम्स र एन्ड्रयु जनसन ( मात्रै आफ्ना उत्तराधिकारीको शपथग्रहणमा सहभागी नभएको इतिहास छ । अघिल्लो शताब्दीमा कुनै पनि राष्ट्रपति त्यसरी अनुपस्थित भएनन् । उपराष्ट्रपति माइक पेन्सले आफू शपथग्रहण समारोहमा उपस्थित हुने बताएका छन् ।
कोभिड–१९ ले समारोहलाई कसरी परिवर्तन गर्नेछ ? साधारण अवस्थामा वासिङ्टन डीसीमा लाखौँको संख्यामा मानिसहरू उक्त समारोहमा भाग लिन जाने गरेका थिए । सन् २००९ मा पहिलो कार्यकालका लागि राष्ट्रपति ओबामाले शपथ लिँदा २० लाख मानिस वासिङ्टन डीसी पुगेको ठानिन्छ । तर यस पल्ट त्यस्तो उत्सव हुनेछैन । बाइडनको टोलीले संख्या एकदमै सीमित हुने भन्दै समर्थकहरूलाई राजधानीमा नआउन भनिरहेको छ । डीसीका अधिकारीहरूले संसद् भवनमा भएको हुलदङ्गापछि त्यो आग्रह दोहो¥याएका छन् । बाइडन र ह्यारिसले सन् १९८१ मा रेगनको पालामा सुरु भएको परम्परालाई निरन्तरता दिँदै अमेरिकी संसद्को अगाडिपट्टि शपथ लिनेछन् । त्यहाँबाट मल पनि देखिन्छ । द वाशिङ्टन पोस्टका अनुसार समाजिक दूरी कायम गरेर २०० जना मानिस उनीहरूसँगै मञ्चमा बस्नेछन् । सबैले मास्क लगाउनेछन । त्यहाँ उपस्थिति हुनु केही दिनअघि नै सबैको परीक्षण गरिने उल्लेख गरिएको छ । बाइडनले राष्ट्रपति पदका लागि शपथग्रहण लिने बेलामा आफूले मास्क नलगाउने बताएका थिए । विगतमा औपचारिक समारोहमा भाग लिन झन्डै दुई लाख टिकट उपलब्ध हुनेगरेको भए पनि यसपालि एक हजार मात्रै छुट्याइएको छ । यसपालि पेन्सिल्भेनीया एभन्यूदेखि ह्वाइट हाउससम्मको परम्परागत परेडको सट्टा अमेरिकाभरि भर्चूअल परेड गरिने भनिएको छ । बाइडन, ह्यारिस र उनका परिवारका सदस्यहरूलाई ब्यान्ड र ड्रमसहितको सैनिक टोलीले ह्वाइट हाउसमा लैजानेछ । नयाँ राष्ट्रपतिको सत्तारोहण समारोहका लागि यूएस क्यापटिल अर्थात् संसद् भवनबाहिर मञ्च बनाइएको छ ।
साङ्गीतिक कार्यक्रममा के हुँदैछ ? सत्तारोहण समारोहमा नयाँ राष्ट्रपतिहरूले देशका लोकप्रिय कलाकारहरूलाई कार्यक्रम गर्न लगाउने गरेका छन् । महामारीका बीच यसपालि पनि त्यो परम्परालाई निरन्तरता दिइनेछ । बाइडन र ह्यारीससँगै नयाँ राष्ट्रपतिको समर्थक रहेकी लेडी गागाले साङ्गीतिक प्रस्तुति दिनेछिन् । उनले राष्ट्रिय गान गाउने भनिएको छ । साङ्गीतिक समारोहमा जेनिफर लोपेजले पनि गीत गाउनेछिन् । बीयोन्सेले ओबामाका दुवै सत्तारोहण कार्यक्रममा साङ्गीतक कार्यक्रम प्रस्तुग गरेकी थिइन् । बाइडनले शपथग्रहण गरेपछि प्राइमटाइम टेलिभिजनमा अभिनेता टम ह्यान्क्सले ९० मिनेटको कार्यक्रम सञ्चालन गर्नेछन् । साधारणतया स्वयम उपस्थित भएर गर्ने गरिएको त्यस्तो कार्यक्रमको ढाँचा कोभिडको कारण परिवर्तन गरिएको हो । त्यसमा बोन जोभी, डेमी लोभाटो र जस्टिन टिम्बरलेक सहाभागी हुनेछन् । उक्त कार्यक्रम राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने फक्स न्यूजबाहेक अमेरिकाका सबै प्रमुख नेटवर्कहरूबाट प्रसारण हुनेछ ।–बीबीसी