सोसल मिडिया
Contact Us
युनिकोड
इलाम : चालु आर्थिक वर्षको तीन महिनामा प्रहरीले इलाममा छ हजार ५२ पटक गस्ती गरेको छ । असार मसान्त यता पाँच हजार ६४४ पैदल रुपमा ग्रामीण क्षेत्रको गस्ती गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै चार सय पटक सवारीमा गस्ती गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले जानकारी दिए । आठ पटक सीमा नाकामा संयुक्त गस्ती गरिएको श्रेष्ठले जानकारी दिए ।
जिल्ला प्रहरी प्रमुखको रुपमा श्रेष्ठ आएयता ग्रामीण क्षेत्रमा प्रहरीको गस्ती बाक्लिएको छ । गलत मानसिकता भएकाहरुलाई निरुत्साहित गर्नको लागि प्रहरीको परिचालन गरिएको श्रेष्ठले बताए । ‘प्रहरीलाई देखेपछि गलत मनसाय भएकाहरुसमेत त्यस्तो काम गर्ने हिम्मत गर्दैनन्,’ उनले भने, ‘गाउँ गाउँमा चौकी छ, नागरिक पनि गस्ती होस भन्ने चाहन्छन्, प्रहरी गस्तीले नागरिकलाई ढुक्क बनाउँछ ।’
ग्रामीण गस्तीमा कम्तीमा चार जना प्रहरी परिचालन हुन्छन् । गस्तीमा निस्किने प्रहरीले गस्ती हुने रुटको बारेमा शुरुमा नै जिल्लामा जानकारी दिनुपर्छ । गस्तीबाट फर्किएपछि समेत त्यसको जानकारी दिनुपर्छ । त्यतिले मात्रै पुग्नैन । गस्तीमा निस्किएको टोलीले स्थानीयसँग कुरा गर्नुपर्छ र कुरा गरेको व्यक्तिको नम्बर जिल्ला प्रहरी कार्यालयमा उपलब्ध गराउनुपर्छ ।
‘गस्तीमा गएको टोलीले रुटमा पर्ने नागरिकसँग कुराकानी गर्नैपर्छ, कुरा गर्ने धेरै विषय भएन भने सञ्चबिसञ्च सोध्ने, परिवारको बारेमा सोध्ने मात्रै गरेपनि हुन्छ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘तर त्यसरी कुराकानी भएको व्यक्तिको सम्पर्क नम्बर जिल्लामा पठाउनुपर्छ ।’
गस्ती टोलीले पठाएको नम्बरमा भने सिनियर अधिकृतहरुले छड्के जाँच समेत गर्छन् । ‘हामीलाई गस्ती गरेको भनेर रिपोर्ट मात्रै आउँछ, भयो कि भएन यहाँ बसेर हेर्न सकिँदैन, नागरिकको नम्बर नै भएपछि त छड्के गर्न पाइयो नि,’ प्रहरी निरीक्षक किशोर तामाङले भने, ‘गस्तीमा निस्किएको टोलीले दिएको नम्बरमा फोन गरेर तपाईकोमा प्रहरी आएको थियो, के के कुरा भयो भनेर सोध्छौं ।’
यस्तो छड्के जाँचका क्रममा अहिलेसम्म कसैले पनि फटाई गरेको नपाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । ‘गस्तीमा नगई गस्ती गरे भनेर कसैले फटाइ गरेको भेटियो भने त उ कारवाहीमा परिहाल्छ नि,’ उनले भने, ‘अहिलेसम्म कहीबाट त्यस्तो भएको पाएका छैनौं, अब नागरिकलाई भेटेको प्रमाण स्वरुप नम्बर नै उपलब्ध गराउनुपर्ने भएपछि कसैले छल्ने आँट गर्दैनन् ।’