एक हजार ४७८ जनामा सङ्क्रमण 

बुधबार, असोज ६, २०७८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४७८ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले १३ हजार ९३० वटा नमूना परीक्षण गर्दा एक हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।  नेपालमा सङ्क्रमण दर १९ दशमलव एक प्रतिशत रहेको छ । योसँगै हाल देशभर सक्रिय सङ्क्रमित २१ हजार १३९ जना रहेका छन् । उहाँका अनुसार ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला २१ छन् । पछिल्लो २४ घण्टामा एक हजार ६३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५५ हजार ६३० छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५ दशमलव नौ प्रतिशत छ । 
यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा छ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ५९ जनाको निधन भइसकेको छ । हाल देशभर ३३४ जना सघन उपचार कक्षमा, ११९ जना भेन्टिलेटरमा, १९ हजार ८०५ जना होमआइसोलेसन, एक हजार ३३४ जना संस्थागत आइसोलेसन र २४३ जना क्वारेन्टिनमा छन् । आज एक लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेका छन् । 

प्रदेश नं १ मा सबैभन्दा बढी मोरङ र विराटनगरमा सङ्क्रमित

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशमा सबैभन्दा बढी मोरङमा ९३ जनामा कोरोनो सङ्क्रमण भएको पुष्टि भएको छ । सोही अवधिमा स्थानीय तहअन्तर्गत मोरङकै विराटनगरमा ५२ जना सङ्क्रमित भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा दुई, धनकुटा, सङ्खुवासभा र तेह्रथुममा एकएक र प्रदेश बाहिरका चार जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।     
सोही अवधिमा एक हजार ५९ को पीसीआर परीक्षण गर्दा २२९ र ४५१ को एन्टिजेन परीक्षण गर्दा ९१ गरी कूल ३२० मा कोरोना सङ्क्रमण भएको हो ।
प्रदेशमा आजै १७४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८७ महिला र ८७ पुरुष रहेका छन् । सोही अवधिमा कोरोना सङ्क्रमणबाट एक महिलासहित चारको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तीन जिल्लामा पूर्ण खोप 

कोरोना भाइरसविरुद्धको खोप तीन जिल्लामा पूर्णमात्रामा लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले मनाङ, मुस्ताङ र पूर्वरुकुममा सबै लक्षित जनसङ्ख्यामा पूर्णमात्रामा खोप लगाएको जानकारी दिए । 
यस्तै काठमाडौँ उपत्यकामा ४० प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोना भाइरसविरुद्धको पूर्णमात्राको खोप लगाएको छ । मुलुकभरि करिब १८ प्रतिशत जनसङ्ख्याले पूर्णमात्राको खोप लगाएका छन् । 
सरकारले यही असोज मसान्तसम्ममा ३३ प्रतिशतलाई पूर्णमात्राको खोप लगाउने लक्ष्य राखेको छ । कूल दुई करोड १३ लाख जनसङ्ख्यालाई खोप लगाउने सरकारको तयारी रहेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन र एस्ट्राजेनिका खोप लगाइएको छ । आज एक लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० जनाले र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेको छन् ।
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार