ललितपुर महानगर २३ नं. वडाद्धारा कौशी तरकारी खेती तालिम(भिडियो)

शनिबार, वैशाख २२, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २३ नं. वडा कार्यालयले वडावासीलाई कौशी तरकारी खेती प्रवद्र्धनका लागि तालिम–प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।  वडा कार्यालयले आर्थिक वर्ष २०८०–८१ को वडा स्तरीय बजेटबाट वडावासीहरूका लागि कौशी खेती प्रवद्र्धनका लागि तालिम कार्यक्रम आयोजना गरेको हो । एक दिने तालिममा करिब १५० जना वडावासीको सहभागिता रहेको थियो । तालिमको उद्घाटन गर्दै ललितपुर महानगर २३ नं. वडा का वडाअध्यक्ष जीवन महर्जनले कौशी खेती प्रवद्र्धन तालिमप्रति वडावासीले देखाएको उत्सुकताप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि वडावासीलाई हित हुने किसिमका थप कार्यक्रमहरू ल्याउने बताउनुभयो । 

kausi-4-1714828224.jpg
उहाँले पछिल्लो समय कौशी खेतीतर्फ वडावासी आकर्षित भएको देखेर नै आफूहरूले यो तालिम कार्यक्रम आयोजना गरेको जनाउँदै कौशी तरकारी खेतीबाट परिवारको आवश्यकता पूर्ति हुने विश्वास व्यक्त गर्नुभयो ।  ‘अबको १० वर्षमा सबै भन्दा धनी हुने भनेकै कृषकहरू हुन’, उहाँले भन्नुभयो, ‘जग्गाको कम भएको अवस्थामा कौशी खेतीमा मात्रै ध्यान दिन सक्दा पनि मौसमी तरकारीमा आत्म निर्भर हुन सकिन्छ ।’ 
कार्यक्रममा वडा सदस्य मधुसिंह श्रेष्ठ ठकुरीले उपस्थित वडावासी तथा प्रशिक्षकहरूलाई स्वागत गर्दै वडाका कार्यक्रमहरूमा वडावासीले देखाउनु भएको चासोलाई धन्यावाद दिनु भएको थियो । 
कार्यक्रममा महानगरपालिका कृषि शाखाका दिपक गिरीले महानगरपालिकाले युएनडीपीसँगको सहकार्यका कौशी खेतीसँगसँगै फोहोर व्यवस्थापन सम्बन्धी कार्यक्रम आगमी आर्थिक वर्षदेखि सुरु गर्ने तयारी गरेको जानकारी दिँदै यो कार्यक्रमबाट पनि वडा नं २३ का वडावासीले लाभलिन आह्वान गर्नुभयो । कार्यक्रममा कृषि कार्यालय खुलमटारका कृषि विज्ञ एकराज थारूले वडावासीलाई कौशी खेतीका लागि कस्ता विरुवा लगाउने, कम्पोष्ट मल बनाउने तरिका, माटोको तयारीलगायतका विषयमा जानकारी गराएका थिए । वडा कार्यालयकी सामाजिक परिचालक साबित्रा गौतमले सञ्चालन गरेको उक्त कार्यक्रममा वडा सदस्य राजनमल्ल ठकुरीको पनि उपस्थिति रहेको थियो । तालिमका सहभागी वडावासीलाई कौशी खेतीका लागि ६ प्रकारका बर्खेबालीका बिउ पनि वितरण गरिएको थियो । 

Kausi-1-1714828218.jpg
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार