मौसम सफा भएसँगै गर्मी महसुस

मंगलबार, पुस २८, २०७७

काठमाडौँ । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभरको मौसस सफा भएसँगै गर्मी महसुस गरिएको छ । मौसम सफा भई राम्रोसँग घाम लागेकाले दिउँसोको अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । ‘अब गर्मी नै शुरु भई सकेको भने होइन केही दिन मौसम सफा भएकाले दिउँसोकोे अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको हो । कुनै मौसमी प्रणाली विकसित भए फेरी चिसो बढ्छ’, मौसमविद् मानन्धरले भनिन् । मौसमविद्का अनुसार डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ । पानी पर्याे भने पनि जाडो बढ्छ तर अहिले तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको बताइएको छ । पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गत साता काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण ह्वात्तै बढेको थियो । त्यतिबेला अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढेको थियो । त्यसैले सर्वसाधारणले प्रदूषण बढेको समयममा पनि चिसो महसुस गर्न पाएनन् । गत वर्षमा डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो । यस वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको छैन । (मङ्सिर, पुस र माघ) महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्दछ । यस वर्ष माघ महिना शुरु हुन लाग्दा पनि हिउँदे वर्षा भएको छैन् । आइतबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस मापन भएको थियो । आज पनि काठमाडौँको अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस नै रहेको छ । त्यसैले गर्मी अनुभव भएको हो । भोलिदेखि कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना रहेकाले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो बढ्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री र अधिकतम तापक्रम २३ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ०५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार