रोल्पामा टोल शिक्षामार्फत पठनपाठन 

शनिबार, साउन ९, २०७८

रोल्पा । रोल्पाको एक सामुदायिक विद्यालयले टोल शिक्षामार्फत पठनपाठन शुरु गरेको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले असारको अन्तिम सातादेखि टोल शिक्षामार्फत पठनपाठन थालनी गरेको हो । विद्यार्थीमा पढ्ने बानी घट्दै गएको भन्दै अभिभावकले पटकपटक वैकल्पिक विधिवाट पठनपाठन गर्न गरेको आग्रह वमोजिम तल्ला कक्षामा टोल शिक्षा शुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले बताए ।  टोल शिक्षामा बढीमा २५ जना विद्यार्थीलाई एउटा कक्षामा  राख्ने गरिएको छ । कोरोना महामारीलाई ध्यानमा राखेर सावधानी अपनाउँदै टोल शिक्षा शुरु गरिएको न्यौपानेको भनाइ छ । 
कोरोनाको दोस्रो लहरसँगै बन्द भएको विद्यालय खुल्ने सुनिश्चित नहुँदा अभिभावकको माग बमोजिम टोलटोलमा पठनपाठन शुरु गरिएको विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले जानकारी दिए ।  विद्यालय बन्द रहेपनि पढाइ बन्द नहोस् भनेर यो विधिबाट पठनपाठनलाई निरन्तरता दिएको प्रधानाध्यपक पोख्रेलले बताउनुभयो । कक्षा नर्सरीदेखि तीनसम्म टोल शिक्षा सुरु गरेको विद्यालयले जनाएको छ । चालु शैक्षिक सत्रमा नर्सरीदेखि कक्षा तीनसम्म भर्ना भएका ४२३ मध्ये ३५८ विद्यार्थी टोल शिक्षामा समावेश भएको विद्यालयका  शिक्षक  मुकेश हमालले बताए । टोल शिक्षामा सहभागि हुनेको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले भर्ना भएको तर टोल शिक्षामा नआएका विद्यार्थीलाई पनि सहभागी गराउने पहल भइरहेको शिक्षक हमालको भनाइ छ । 
लामो समय विद्यालय बन्द भएका कारण उनीहरू सदरमुकाम छोडेर घर गएका हुनसक्ने उहाँको भनाइ थियो । 
विद्यालयले थालनी गरेको टोल शिक्षाले विद्यार्थी पढाइप्रति आशावादी देखिएको अभिभावकको भनाइ छ । लामो समय विद्यालय बन्द रहँदा मोवाइल र टिभी बढी हेर्ने बालबालिका टोलमै गएर पढ्न पाउँदा सिकाइ प्रक्रिया पनि प्रभावकारी हुने अभिभावक मनवहादुर खत्रीले बताए । ‘विद्यार्थीमा पढ्ने लेख्ने वानी विर्सदै गएको  देख्दा दुःख लागेको थियो, टोल शिक्षाले उनीहरूलाई व्यस्त बनाएको छ’, खत्रीले भने । सो विद्यालयले गरेको राम्रो अभ्यास जिल्लाका अन्य विद्यालयले पनि अनुसरण गर्न थालेका छन् । बालकल्याण माविले शुरु गरेको टोल शिक्षालाई आफूहरूले पनि अनुशरण गरेको सरस्वती आधारभूत  विद्यालय रोल्पा नगरपालिका–२ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगवहादुर वलीले जानकारी दिए ।  जिल्लाका अन्य सामुदायिक र संस्थागत विद्यालयले  पनि  टोल  शिक्षा सञ्चालन गर्ने तयारी गरेका छन् । जिल्लाको पहिलो नमूना माविको रूपमा रहेको सो विद्यालयमा करीब दुई हजार ६०० भन्दा बढी विद्यार्थी अध्ययन गर्दछन् । विद्यालयमा कक्षा  ११ र १२ मा विज्ञान, वाणिज्य, मानविकि र शिक्षाशास्त्रमा अध्यापन हुँदै आएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् अन्तरगत सिभिल इन्जिनियरिङ विषयमा प्री डिप्लोमा र डिप्लोमा तहका कक्षासमेत  सञ्चालन हँुदै आएका छन् ।
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ०६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार