सुनगाभा साहित्य सदनको कविता प्रतियोगितामा कालेश्वरका नारायणप्रसाद दाहाल प्रथम

आइतबार, असार २०, २०७८

ललितपुर । २०८ औँ भानुजयन्तीको अवसरमा सुनगाभा साहित्य सदन ललितपुरले जिल्लाव्यापी खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार आयोजित प्रतियोगितामा ललितपुरका २० जना कविहरुको सहभागिता थियो । तीमध्ये १० उत्कृष्ट कविहरुले भर्चुअल माध्यमबाट कविता वाचन गरेका थिए । सुनगाभा साहित्यक सदनका अध्यक्ष रामसुन्दर केसीले स्थापनाको १५ वर्षे इतिहासमा सुनगाभा साहित्य सदनले विभिन्न आरोह र अबरोह पार गरेको स्मरण गर्दै धेरै साहित्यकार कवि, गजलकार र कथाकार जन्माएको भन्दै खुसी व्यक्त गरे । अध्यक्ष केसीले केही समय सुनगाभा साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन भएपनि अर्थ अभावले त्यसलाई निरन्तरता दिन नसकिएको जनाउँदै आगामी दिनमा साहित्यिक पत्रिकालाई निरन्तर प्रकाशन गरिने बताए ।  उनले कविता प्रतियोगिता आयोजनाका लागि महाँकाल गाउँपालिकाले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेमा खुसी प्रकट गर्दै सदनलाई अगाडि बढाउन अक्षय कोषको स्थापना गर्ने र आजिबन सदस्य बनाउने बताए । महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दहालले  नेपाली भाषा कला साहित्यको संरक्षण गर्न सुनगाभा साहित्य सदनसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।  अध्यक्ष दहालले पालिकामा कला र साहित्यको विकास गर्न बजेट बिनियोजन गरिएको पनि जानकारी दिए ।  कविता प्रतीयोगिताको निर्णायकमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल तथा समालोचक कृष्ण दाहाल र छन्द कवि रत्न बिरही घिमिरे रहेका थिए । तीन सदस्यीय निर्णय मण्डलले १० वटा कविता मध्येमा चार कविता उत्कृष्ट ठह¥याएका थिए । प्रतियोगितामा महाँकाल गाउँपालिका–४ कालेश्वरका नारायणप्रसाद दाहाल प्रथम,  गोदावरी नागरपालकाकी  कवियत्री शर्मिला दहाल द्वितिय, गुल्मीका शेखर अर्याल तृतीय र कालेश्वरका राजु घिमिरे सान्त्वना भए । सुनगाभा सदनका सचिव भुमिनन्द घिमिरेले कोभिड १९ का कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्न नसकिए पनि स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रुपमा उपस्थित गराएर स्रष्टाहरुलाई पुरस्कार प्रदान गरिने बताए । 
प्रतियोगितामा प्रथम हुनेलाई ७ हजार रुपैयाँ द्वितीय ५ हजार रुपैयाँ तृतीय हुनेलाई ३ हजार र सान्त्वना हुनेलाई १ हजार रुपैयाँ नगदसहित प्रशंसापत्र र साहित्यिक पुस्तक प्रदान गरिने छ । कविता वाचन प्रतियोगितामा गोदावरी साहित्यिक प्ररिषद्का अध्यक्ष वशिष्ठ अधिकारी, वरिष्ठ साहित्यकार परसु तिमल्सिना, साहित्यकार गोविन्द पराजुली , गोपाल संजेलसहित साहित्यिक संस्थामा आवध स्रष्टाहरुले कविता वाचन गरेका थिए ।  
 

प्रकाशित मिति: आइतबार, असार २०, २०७८  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार