चार जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल अवतरण

आइतबार, वैशाख १९, २०७८

वासिङ्टन । स्पेश–एक्स ड्रागनमार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् ।  अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा)का अनुसार अन्तरिक्ष यात्री पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन् । ती अन्तरिक्ष यात्री अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना रहेका थिए । उनीहरु जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गामार्फत् उनीहरुलाई बाहिर निकालिएको थियो । नासाले सबै चार अन्तरिक्ष यात्रीले आफू ठीक रहेको बताएको जनाएको छ ।  फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान ०२ बजेर ५६ मिनेटमा पृथ्वीमा उनीहरु अवतरण गरेका थिए । उनीहरुलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे छ घण्टा लागेको नासाले जनाएको छ ।  गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा जानु भएको थियो । उनीहरु अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेश–एक्सबाट प्रस्थान गरेका थिए ।  सात जना अन्तरिक्ष यात्री अझै पनि अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)मा रहेका छन् । उनीहरु गत साता स्पेस–एक्समार्फत् नै अन्तरिक्षमा पुगेका हुन् ।– एएफपी
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार