जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता बढ्दै

गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार पाँचौँ स्थानमा
बुधबार, जेठ ४, २०७९

जनकपुर, ४ जेठ । मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । त्यहाँ पाँचदलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार पाँचौँ स्थानमा छन् ।
गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार जनता समाजवादी पार्टीका लालकिशोर साहको मत परिणाम निराशाजनक देखिएको हो । नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले तीन हजार ९५६ मतका साथ अग्रता बनाउँदा निवर्तमान नगरप्रमुखसमेत रहेका गठबन्धनका उम्मेदवार लालकिशोर ४२९ मत ल्याएर पाँचौँ स्थानमा छन् ।
उनीभन्दा अगाडि एमालेका शिवशङ्कर साह दुई हजार ८६ मतका साथ दोस्रो, स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ११३ मतका साथ तेस्रो र लोसपाका मनोज चौधरीले ७३१ मत प्राप्त गरी चौथो स्थान रहेका छन् ।
गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवारको मतपरिणाम निराशाजनक देखिए पनि गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार बनेका कांग्रेसका किशोरी साहले भन्ने सुरुदेखि नै अग्रता कायम राखेका छन् । उनले तीन हजार ४४२ मत प्राप्त गरी अग्रता कायम राखेको छन् भने एमालेका रुना झाले एक हजार ७३७ मतका साथ उहाँलाई पछ्याइरहेका छन् ।
कूल २५ वटा वडा रहेको जनकपुरधाम उपमहानगरपालिकाको हालसम्म सम्पन्न सातवटा वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उनका अनुसार वडा नं १ को वडाध्यक्षमा कांग्रेसका दीपनारायण यादव (देवु), वडा नं २ मा कांग्रेसकै शिवकुमार साह, वडा नं ३ मा तमलोपाका दीपेन्द्रकुमार साह, वडा नं ४ मा कांग्रेसका सुरेश झा, वडा नं ५ मा एमालेका बेचन साह हलुवाइ, वडा नं ६ मा कांग्रेसका दिनेश्वर साह र वडा नं २५ को वडाध्यक्षमा कांग्रेसकै चन्देश्वर साह विजयी भएका छन् । अन्य वडाको मतगणना कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत प्याकुरेलले बताए ।

 

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  १०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार