पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

शनिबार, वैशाख ३१, २०७९

गण्डकी, ३१ वैशाख । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ । मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहान ७.३० बजे सर्वदलीय वैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।
मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्नेगरी तयारी गरिएको उनले बताए । सर्वदलीय वैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा कूल दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको थियो ।

गोकर्णेश्वरमा मतगणना सुरु
गोकर्णेश्वर नगरपालिकामा शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नं १ बाट मतगणना सुरु भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिइन् । बिहानसम्म वडा नं १ को ८०० मतगणना सकिएको उनले सुनाइन् ।
प्रारम्भिक मत परिणामअनुसार नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र वडाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवारले अग्रता कायम गरेका छन् ।
नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । ती मध्ये २४ हजार २४२ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजयी हासिल गरेको थियो ।
शुक्रबार भएको मतदानमा वडा नं १ दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।–रासस

 

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार