लक्ष्यभन्दा दुई महिनाअघिनै भवन निर्माण 

शनिबार, असोज ३०, २०७८

म्याग्दी । ढिलासुस्तिले अधिकांश विकास योजना थला परेको अवस्थामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा लक्ष्य भन्दा दुई महिना अघिनै भवन निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणको ठेक्का लिएका व्यवसायीले इच्छाशक्ति हुने हो भने विकास आयोजनामा हुने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएका छन् । अन्नपूर्ण गाउँपालिकासँग विस२०७७ चैतमा दुई तले दश कोठे छात्रावास भवन निर्माणका लागि सम्झौता गरेको उत्तरगङ्गा निर्माण सेवाले लक्ष्य भन्दा दुई महिना अघिनै काम सकेको हो ।  आगामी मङ्सिर महिनासम्म म्याद भएपनि निर्माण व्यवसायीले भवन बनाइसकेका गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले बताए ।  “ठेक्का सम्झौता लगत्तै फैलिएको कोरोना महामारी, निषेधाज्ञा, वर्षा सुरु भएपछिको बाढी पहिरोको असहज अवस्थाका बावजुद पनि लक्ष्य अघिनै भवन बन्यो”, उनले भने । 
एक करोड ४८ लाख लागत अनुमान गरिएको भवन निर्माणका लागि रु एक करोड एक लाखमा ठेक्का सम्झौता भएको थियो । 
निर्माण ब्यवसायी कृष्णप्रसाद बरुवालले आवश्यकता अनुसार निर्माण सामग्री, उपकरण जुटाएको, मजदुर परिचालन गरेको बताए । 
गाउँपालिका, वडा कार्यालय र समुदाय स्तरबाट भवन निर्माणमा सहजीकरण भएकाले काम गर्न सहज भएको बरुवालले बताए । 
शिक्षा, विज्ञान, प्रविधी मन्त्रालयको नमूना विद्यालय कार्यक्रम अन्तरगत ज्ञानप्रकाश माविमा पहिलो चरणमा छात्रावास भवन निर्माण भएको हो ।  निर्माण भएको छात्रावास भवन आगामी तिहारलगत्तै प्रयोगमा ल्याउने तयारी गरेको ज्ञानप्रकाश माविका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए । 
“भवन बनेपछि घर टाढा भएका र बिहान बेलुकी अतिरिक्त कक्षा पढ्नुपर्ने दश कक्षाका विद्यार्थीलाई डेरा खोज्नुपर्ने समस्या हेटेको छ”, उनले भने ।  कक्षा १२ सम्म पठनपाठन हुने ज्ञानप्रकाश माविमा यसै वर्ष राष्ट्रिय पुननिर्माण प्राधिकरणको ७० लाख अनुदान सहयोगमा चार कोठे भूकम्प प्रतिरोधी क्षमताको भवन निर्माण भएको छ । 
नमूना विद्यालय कार्यक्रम मार्फतनै रु ४२ लाखको लागतमा विद्यालय परिसरमा घेराबार गर्न पक्कि पर्खाल र शौचालय निर्माण भइरहेको प्रअ नेपालीले बताए ।  पाँच वर्षे नमुना विद्यालय कार्यक्रम अन्तरगत रु दश करोड लागतमा पूर्बाधार निर्माण र शैक्षिक सुधारका गतिविधि सञ्चालन गरिने भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन सङ्कायमा पठनपाठन सञ्चालन गरेको ज्ञान प्रकाश माविमा कम्प्युटर, विज्ञान प्रयोगशाला र पुस्तकालय छ । कक्षा पाँचसम्म अंग्रेजी र नेपाली दुबै माध्यमबाट पठनपाठन गराइने यस विद्यालयको आधारभूत तहको कक्षा कोठामा शैक्षिक सामग्री प्रर्दशनी गरेर पठनपाठन गर्ने विधि अपनाइएको छ ।–रासस 
 

प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  ०५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार