खत्याडमा पहिरोले ३० लाख बराबरको क्षति

शुक्रबार, असोज २२, २०७८

मुगु : जिल्लाको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका- ३ माथिखर्कमा पहिरो गएको छ । पहिरो बिहीबार बिहान ४ बजे गएको हो ।

पहिरोले साविक गम्था घर भएका रत्नचन्द्र उपाध्यायको घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । लगातारको वर्षाका कारण बिहीबार पहिरो गएको हो । उपाध्यायको घर बगाएसँगै अन्य क्षतिसमेत भएको जनाइएको छ ।

पहिरोले उपाध्याको घर जगभन्दा करिब २० मिटर तल पुर्‍याएको छ । मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले जानकारी दिए ।

पहिरोपीडित उपाध्यायका अनुसार बिहान ४ बजेतिर सुतिरहेको अवस्थामा एक्कासि माथिबाट ढुंगा आएर घर पछाडिको मुख्य भित्तामा लागेको थियो । गोठमा गाईबस्तु पहिरोले पुरिएका छन्  । 

पहिरो गएको थाहा पाएपछि हतारहतार घरबाट परिवार बाहिर आएर पश्चिमतिर गएर बाच्न सफल भएको उनको भनाइ छ । घरमा एक सानो बालक, तीन महिला र दुई पुरुष गरेर छ जना सदस्य रहेका र सबै सकुसल रहेको उनले बताए ।

एक गोरु, घरमा राखेको अन्नबाली, केही दिनअघि बैंकबाट ल्याएर बाकसमा राखेको नगद छ लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्ता, १५ कट्टा धानलगायत पहिरोले बगाएको उनको भनाइ छ । सबै गरेर ३० लाख रुपैयाँको क्षति भएको उपाध्यायले बताए ।  

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ०४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार