सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाल प्रहरीले कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीलाई ‘पूर्ण शान्ति पुरस्कार २०७८’ र साहसिक तथा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी नायब निरीक्षक सुमेश पाण्डेलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार २०७८’ प्रदान गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औँ प्रहरी दिवसका अवसरमा राजधानीमा आयोजित एक समारोहका बीच उहाँहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । सो क्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पु¥याउने व्यक्ति एवं लेखकलाई सम्मान गरिएको थियो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी निरीक्षक बविन्द्र नेम्वाङ, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायब उपरीक्षक फनिन्द्र प्रसार्इंलाई पुरस्कार प्रदान गरे । सोही क्रममा उनले जोखिमपूर्ण कार्य गर्ने प्रहरी नायब उपरीक्षक डा जयन्ती ढुङ्गाना, प्राविधिक प्रहरी निरीक्षक निरुषा महर्जन, प्रहरी कार्यालय सहयोगीद्वय शर्मिला भुलेज र सुरज देउलालगायत पनि कदरपत्र एवं पुरस्कार प्रदान गरे । समुदाय–प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउने स्थानीय तहअन्तर्गत काठमाडौँ महानगरपालिका, सङ्घसंस्थातर्फ नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन, एपी १ टेलिभिजन, टुँडालदेवी ज्येष्ठ नागरिक समिति, भक्तपुर उद्योग वाणिज्य सङ्घलाई सम्मान गरिएको थियो । प्रहरी द्वैमासिक पत्रिकामा २०७७ मा प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी निरीक्षक घनबहादुर थापा र सर्वसाधारणतर्फ काठमाडौँ बबरमहलका गम्भीरबहादुर हाडालाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको थियो । सोही क्रममा जग्गादातालाई समेत सम्मान गरिएको थियो । प्रहरी महानिरीक्षक थापाले ६६औँ प्रहरी दिवसका उपलक्ष्यमा नेपाल प्रहरी विद्यालय साँगा काभ्रेद्वारा आयोजित राष्ट्रव्यापी चित्रकला प्रतियोगिताका विजेता खेलाडीलाई समेत पुरस्कार प्रदान गरेका थिए । त्यसैगरी महालक्ष्मी नगरपालिका–५ टीकाथलीका पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी, काठमाडौँ महानगरपालिका–१० दयावती रावल तथा प्रहरी कार्य तथा अनुसन्धान कार्यमा सहयोग गर्ने १२ जनालाई कदरपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कृत हुनु कर्मको फल भएको र पुरस्कार नपाउने पनि कर्मयोगी नै हुने बताए । उनले सुरक्षा संयुक्त जिम्मेवारीको विषय भएकाले आम सर्वसाधारणको प्रहरीप्रति सहयोग र विश्वास हुनुपर्ने उल्लेख गर्नुहुँदै स्थानीय तहसँग बढी विस्तारित भएको प्रहरीले त्रुटिरहित ढङ्गबाट कार्य सम्पादन गर्नुपर्ने बताए ।
प्रहरीद्वारा १९ किलो काइनेटिक ढुङ्गा बरामद
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुङ्गा बरामद गरेको छ । जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत (प्रहरी निरीक्षक) कनकबहादुर शाही नेतृत्वको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलस्थित सुर्खेतबाट सो परिमाणको काइनेटिक ढुङ्गा बरामद गरेको हो । सोही टोलमा रहेको जयधनी बस्नेतको घरमा अवैध ढुङ्गाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा त्यहा पुगेर उक्त चीज बरामद गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । “बस्नेत र जुनीचाँदे गाउँपालिका ७ जाजरकोट घर भई वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय रामकृष्ण घर्तीलाई बस्नेतकै घरमा शङ्कास्पदरूपमा कुराकानी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका छौँ”, उनले भने, “जयधनीकै घरमा खान तलासी गर्दा तीनवटा प्लाष्टिकको कट्ठामा अवैध तरिकाले लुकाई छिपाइ राखेको कालो चीज (काइनेटिक ढुङ्गा) बरामद गरिएको छ ।” उनका अनुसार काइनेटिक ढुङ्गा दुई लाख बराबर छ । नियन्त्रणमा लिइएका बस्नेत र घर्तीसहित बरामद चीज आवश्यक अनुसन्धानका लागि खानी तथा भूगर्भ विभाग शाखा कार्यालय सुर्खेतमा पठाइएको छ ।