अशक्तलाई घरमै पुगेर नागरिकताको प्रतिलिपी हस्तान्तरण

शुक्रबार, चैत ६, २०८२

बाजुरा । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका छन् । बाजुराको बुढीनन्दा नगरपालिका–६ कोटिलाका ३३ वर्षीय खगिन्द्र भाटलाई प्रजिअ निरौलाले नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका हुन् । धनगढीमा बसोबास गर्दै आएका भाटलाई उनकै बसोबास स्थलमा पुगेर नागरिकताको प्रतिलिपि दिईएको हो । रेल दुर्घटनामा दुबै खुट्टा गुमाएका भाट बाजुरामा हिड्डुल गर्न समस्या भएपछि धनगढीमा बस्दै आएका छन् । भाट सन् २०१८ मा भारतको मुम्बईस्थित बेलापुरमा काम गर्न जाने क्रममा भएको रेल दुर्घटनामा परेर दुवै खुट्ट गुमाएर अशक्त भएका थिए । सोही दुर्घटनाका क्रममा उनको नागरिकता समेत हराएको थियो । त्यसयता उनी अपांगताका साथसाथै नागरिकता नहुँदा विभिन्न राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित थिए । पुनःप्रतिलिपि समेत बनाउन उनलाई कठिनाई भएको थियो । अशक्त नागरिकको लागी घरमै पुगेर प्रतिलिपि प्रदान गरिएको प्रजिअ निरौलाले बताए । राज्यले प्रदान गर्ने सेवा–सुविधाबाट कुनैपनि नागरिक बञ्चित हुनु हँुदैन् भन्ने मान्यताका साथ अशक्त नागरिकको लागी घरमै पुगेर सेवा उपलब्ध गराइएको निरौलाको भनाइ छ । खगिन्द्रका बुबा वडाको सिफारिसका साथ प्रशासन कार्यालयमा समेत पुगेका थिए।प्रशासन पुगेका उनले छोराको अवस्थाबारे जानकारी गराएका थिए । जानकारी पश्चात् प्रशासनले आवश्यक प्रक्रिया पूरागरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै उनको घरमै पुगेर प्रतिलिपी हस्तान्तरण गरेको हो । प्रशासनको यो कदमले अन्य नागरिकमा समेत भरोसा थपिएको छ।बाजुराबाट करिक ३ सय किलोमिटर टाढा धनगढीसम्म पुगेर प्रशासनले सेवा प्रदान गरपछि उक्त कामको प्रशंसा समेत गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार