चाडपर्व लक्षित अनुगमनको चटारो

बुधबार, असोज २०, २०७८

मुगु : 

नेपालीहरूको महान् चाड बडादशैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गरी मुगु जिल्लाका सरोकारवाला निकाय, प्रहरी प्रशासनले पसल अनुगमनलाई तीव्रता दिएको छ ।

मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले नेतृत्वमा खटिएको टोलीले सदरमुकाम गमगढी बजारमा अवस्थित पसल, मेडिकललगायत अन्य पसलमा अनुगमन गरेको हो । उनका अनुसार मंगलबार २६ वटा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा विभिन्न पसलबाट पाँच हजार बरावरको सामान जफत गरिएको छ ।

अनुगमनका क्रममा अधिकांश पसलेले खरिदबिक्री देखाउन नसक्ने, अन्य कागजपत्र देखाउन नसक्ने, मूल्यसूची सार्वजनिक नगरी बढी मूल्यमा सामग्री बिक्री गर्ने र म्याद गुज्रिएका सामग्री बिक्री गरेको पाइएको उनले बताए । 

कोरोना महामारीका कारण लामो समयसम्म व्यापार नभएका व्यापारी चाडबाडको मौकामा म्याद गुज्रिएका खाद्यान्न बिक्री गर्ने गरेको र त्यस्ता पसललाई आवश्यक कानुनी कारबाही गरिने कोइरालाले बताए ।

मंगलबार चार वटा मेडिकल, ६ एग्रोभेट, पाँच मासु पसल र १६ वटा खुद्रा पसलमा अनुगमन गरिएको उनले बताए । बजारमा कालो बजारी हुन नदिन जिल्लाका सरोकारवाला निकायसँग छलफल भएको कोइरालाको भनाई छ । 

अनुगमनका क्रममा खाद्यान्न पसलमा म्याद नाघेका बिस्कुट, चकलेट, बनभिटा, चिउरा, भुजियालगायतका खाद्य वस्तु र पेयपदार्थमा रिएलजुस, कोकाकोला, फ्यान्टा, बोटलको पानीलगायत सामग्री फेला परेको थियो ।

उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम खाद्य सामग्रीमा उत्पादन मिति नराखेको, लेबलिङ नगरेको, म्याद नाघेको खाद्य वस्तु बिक्री गर्ने, बिल बिजक नराखेको, व्यापारिक फर्म दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा तत्काल पाँच हजारदेखि तीन लाख जरिवाना गर्नसक्ने व्यवस्था छ । यस्तै तीन महिनादेखि एक वर्षसम्म कैद जरिवाना हुने व्यवस्था पनि छ ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार