छ महिनादेखि अक्सिजन प्लान्ट जडान हुन सकेन 

बुधबार, असोज २०, २०७८

मुगु : 

कोभिड- १९ लाई लक्षित गरी जिल्ला अस्पताल मुगुमा ल्याइएको अक्सिजन प्लान्ट छ महिनादेखि प्रयोगविहीन बनेको छ । कर्णाली प्रदेश सरकारको ४० लाख रुपैयाँ बजेटबाट गत वैशाखमा कोरोना संक्रमितको उपचारका लागि अक्सिजन प्लान्ट खरिद गरिएको थियो ।

प्रतिघण्टा ४० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको अक्सिजन प्लान्ट जडान हुँदा प्रयोगविहीन बनेको हो । 

अहिले प्लान्टको मुख्य मेसिन अस्पतालको एउटा कुनामा थन्क्याइएको छ । अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेपछि जडान हुन नसकेको निमित्त जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले बताए । उनका अनुसार ४० लाख रुपैयाँमा प्लान्ट जडान गर्ने गरी हायात प्रालिले जिम्मा लिएको छ । उसले चीनबाट खरिद गरी ल्याएको मेसिन चार महिनादेखि थन्किएको उनले बताए ।

प्लान्ट जडान नहुँदा अहिले जुम्ला, सुर्खेत र नेपालगंजबाट अक्सिजन सिलिन्डर ल्याएर कोरोना संक्रमितको उपचार भइरहेको छ । निषेधाज्ञा हटेसँगै जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार दैनिक पाँच जनासम्ममा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । अहिले जिल्ला स्वास्थ्य सेवा कार्यालयमा १३४ थान अक्सिजन सिलिन्डरमध्ये ९४ वटा खाली छन् । छायानाथरारा नगरपालिकामा पाँच, खत्याडमा १२ र मुगुमकार्मारोङ गाउँपालिकामा पाँचवटा सिलिन्डर खाली भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बुढाले बताए । उनका अनुसार खाली सिलिन्डर भर्न जुम्ला पठाउने तयारी गरिएको छ ।

कोरोना संक्रमणको तेस्रो लहरको आशंका गरिए पनि अक्सिजन प्लान्ट जडान गर्न बेवास्ता भएको स्वास्थ्यकर्मीको गुनासो छ । जिल्ला अस्पतालमा करिब तीन करोड रुपैयाँ बजेटबाट कोरोना संक्रमितलाई लक्षित गरी आइसोलेसन तथा भेन्टिलेटर सेवा विस्तार गर्न लागिएको बुढाले बताए ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २१:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार