चिसोबाट प्रदेश नं २ चार जनाको मृत्यु

सोमबार, माघ ५, २०७७

वीरगञ्ज । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ््याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ वर्षीया प्रयागी देवी साह र मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइनको मृत्यु भएको छ । 
प्रदेश नं २ का आठवटै जिल्लाका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न बस्ती शीतलहरले बढी प्रभावित भएकाले चिसोबाट बच्न यहाँका १२७ ठाउँमा आगो ताप्ने व्यवस्था गरिएको प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले बताए । सबैभन्दा बढी अति विपन्न तथा गरिब परिवारलाई जाडो तथा शीतलहरबाट सुरक्षित राख्न विभिन्न दातृ निकायको सहयोगमा कम्बल वितरण गरिएको छ । 
शरीरलाई छोप्ने न्यानो लुगा, ओड्ने र ओछ्याउने कपडाको अभावमा विपन्न परिवार तथा दैनिक ज्यालादारी गरी गुजारा चलाउने परिवार अहिले कठ््याङ्ग्रिदो चिसोबाट बच्न परालकै ओड्ने, डसना, गुन्द्रीजस्ता सामान ओढेर रात बिताउने गरेका छन् । तापक्रममा गिरावट आएपछि बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित स्थानीय तहले सबैमा अनुरोध गरेको छ । 
हालको दक्षिणी पूर्वी अरव सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वीविहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेकाले मौसममा खराबी आएको हो । जसले गर्दा अधिकतम तापक्रम घट्न गई चिसो बढन गएको मौसम विज्ञको भनाइ छ । चिसो बढेकै कारण प्रदेश नं २ का अधिकांश जिल्लामा विद्यालय बन्द गरिएको छ । चिसोबाट सबैभन्दा बढी बालबालिका, दमरोगबाट प्रभावित भएका वृद्धवृद्धा तथा दैनिक ज्यालादारी गरी घर खर्चको जोहो गर्ने मानिस प्रभावित भएका छन् । चिसोबाट प्रभावित भएका बिरामी उपचारका लागि अस्पताल आउनेको संख्या बढ्दै गएको छ । 
लामो समयको शीतलहरपछि घाम लाग्यो. 
सोमबार एकाबिहानै झलमल्ल घाम लागेपछि धनुषा जिल्लासहित मध्य तथा पूर्वी तराई–मधेशका गाउँ÷नगरबस्तीमा खुशीयाली छाएको छ । विगत १० दिनदेखि बाक्लो हुस्सुले ढाकेर चिसो स्याँठ खेपिरहेका यहाँका बासिन्दालाई सोमबार एकाबिहानै पारिलो घाम लागेपछि ठूलो राहत भएको हो । यसपाली पुस महिनाको अन्तिम सातादेखि दोहोरिएर हुस्सुले ढाकेर स्याँठ चल्दा निकै चिसो बढेको थियो । यसअघि लाग्दो पुसमा पनि चार दिन हुस्सुले ढाकेर चिसो स्याँठ चल्दा निकै जाडो बढेको थियो । पुसको अन्तिम सातादेखि बाक्लो हुस्सु लागेसँगै लगातार चिसो सिरेटो बढ्दा जाडोले कठ्याङ्ग्रिएर बस्नु परेको थियो । गत सोमबारदेखि लगातार बाक्लो हुस्सुले ढाकेर घाम नदेखिँदा बढेको चिसो आज एकाबिहानै पारिलो घाम लागेपछि जनकपुरधामसहित धनुषाका सबैजसो बजारमा ह्वात्तै चहलपहल बढेको छ । बिहानै घाम झलमल्ल देखिएपछि अब मौसम राम्रो हुने आशमा लुगा धोएर जीविकोपार्जन गर्ने धोबी पानीघाटमा लुगा धुन थालेका छन् । ‘धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा घाम नलागेर शीतलहरको कारण घरमै थुप्रिएको थियो’, क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारका लाल साफी धोबीले भने । 
पारिलो घाम देखिएपछि कृषि कार्यमा व्यस्तता बढेको छ भने चौपाया बस्तुभाउ खोलेर डुलाउन पशुपालक किसान लागेका छन् । अब दुई चार दिन लगातार घाम लागे तरकारीखेती गोडमेल र खेतबारी खनजोत गर्न हुने किसानको आशा छ । धनुषाको सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र क्षीरेश्वरनाथ नगरपालिका–१० दिगम्बरपुरका किसान बेचन महतोले मौसममा सुधार देखिएसँगै अब तरकारी गोडमेल र नयाँ खेतीका लागि खेतबारी खनजोत गर्न अनुकूल हुने बताए । त्यसैगरी अहिले मौसममा सुधार देखिएसँगै पशुपालक किसानले गोठमै बाँधिएर रहेका घरपालुवा गाईभैँसी र बाख्रापाठा फुकाउन वा डुलाउन पाएका छन् ।

प्रकाशित मिति: सोमबार, माघ ५, २०७७  २१:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार