एनआरएनएमा बद्री केसी समूहको उम्मेदवारी घोषणा

मंगलबार, असोज १९, २०७८

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीको समूहले मंगलबार उम्मेदवारी घोषणा गरेको छ । केसीको टिमले संघको १०औँ विश्व सम्मेलनका लागि उम्मेदवारी घोषणा गरेको हो । केसीले उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार तथा कूटनीतिक नियोगलगायतसँग सहकार्य गर्ने बताएका छन् । त्यस्तै, वैदेशिक रोजगारीमा जाने नेपालीको न्यूनतम तलब अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्धारण गरिने, श्रम स्वीकृति नवीकरण, बीमा नवीकरण तथा श्रमसम्बन्धी अन्य समस्याका लागि नेपाल धाउनुपर्ने बाध्यकारी व्यवस्थालाई अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । रसियामा बसोबास गर्ने केसीले विभिन्न व्यवसायमा लगानी गरेका छन् ।  उनले यसअघि एनआरएनएको महासचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन् । 
सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । यसअघि अध्यक्षको प्रत्यासीका रूपमा कुल आचार्य र रविना थापाले पनि छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । यस पटकको एनआरएनए अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । उम्मेदवारी घोषणा गर्दै केसीले आफू एनआरएनएलाई साझा नेतृत्वका रूपमा अघि बढाउन सबै पक्षलाई समेट्ने गरी उम्मेदवारी घोषणा गरेको बताए । निर्वाचनका सन्दर्भमा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी केसीले संस्थागत सुदृढीकरणका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाएर नेपालमा लगानीको वातावरण बनाउन लागिपर्ने बताए । पर्यटन प्रवद्र्धनका साथै एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड अघि बढाउने र संस्थाको पुनर्संरचना गर्ने उनको प्रतिबद्धता छ ।

‘समृद्धि र रूपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारा दिएका केसीले उपाध्यक्षमा हेमराज शर्मा (यूके), डीबी क्षेत्री (ओमान), धर्मराज अधिकारी (अस्ट्रेलिया), यासमिन बेगम शैयद (साउदी अरेबिया) लाई उम्मेदवार बनाएका छन् । त्यस्तै, महासचिवमा गौरीराज जोशी (अमेरिका), सचिवमा रामशरण सिंखडा (यूके), ओम गुरुङ (जापान), चिरञ्जीवी घिमिरे (क्यानडा) र महिला सहकोषाध्यक्षमा यमुना भट्टराई (अमेरिका)ले उम्मेदवारी घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्य र रविना थापाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार