सोसल मिडिया
Contact Us
युनिकोड
गलेश्वर । धार्मिक,सांस्कृतिक र जैविक महत्वलेयुक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको प्राकृतिकस्वरुप पछिल्ला केही वर्षयता नासिँदै गएको छ । बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनि बाढीपहिरोले गर्दा पवित्र नदी कालीगण्डकीको मौलिकस्वरूपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीले बताएका छन् । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साघुरो भएपछि सडक विस्तार गर्ने नाउँमा त्यहाँको ढुङ्गा र गेगर कालीगण्डकीमा खसाल्दै आइएको छ । यहाँ सामान्य वर्षा हँुदासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र कालीगण्डकीमा गएर मिसिने गरेको छ । सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर, बाँदरजुङगे भीरमा बर्सेनि ठूलाठूला पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको अन्नपूर्ण गाउँपालिका– ५ का रमेश पुनले बताए । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने र त्यो पहिरो कालीगण्डकी नदीमा मिसिने हुँदा खोँचयुक्त कालीगण्डकी पुरिँदै र साँघुरिँदै जान थालेको जानकारहरूले बताएका छन् । डोजर र स्काभेटरले जथाभावि उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ । बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धारपरिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खल्बलिएको वतावरणविद्हरूले बताउँदै आएका छन् । सर्वोच्च अदालतले गत साउनमा नदी उत्खनन, नदीमा फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । तर, चोरी निकासी भने रोकिएको छैन । पछिल्लो समय मानवीय अतिक्रमणका कारण सङ्कुचित हुँदैगएको पवित्र कालीगण्डकी बचाउनका लागि युवा अभियानकर्मीले पोस्टर आन्दोलन कविता शृङ्खला ‘नदी सप्तक’ अभियान समेत सुरु गरेका छन् । यति हुँदाहुँदै पनि राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र नदीजन्य पदार्थ र बहुमूल्य दुर्लभ शिला शालिग्रामको चोरी निकासी भने रोकिएको छैन । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कटसमेत बढ्दै गएको छ । नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिरोका कारण तटीय बस्ती जेखिममा पर्दै जान थालेका छन् । नदी साविकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी ईन्द्रमान शेरचनले बताए । उनका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढीपहिरो र नदी कटानको जोखिम उच्चरूपमा बढ्दै गएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न मन्त्रिपरिषद्को कार्यालयसमेतलाई अन्तरिम आदेश दिएको हो । कालीगण्डकी नदीको सौन्दर्यलाई क्षयिकरण हुन नदिन युवाको समूहले पोस्टर आन्दोलन कविता शृङ्खला ‘नदी सप्तक’ अभियान गरेको छ । अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रूपमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै आएको छ । अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोहन विरुद्ध लक्षित छ । राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेले विसं २०१५ मा लेखेको कविता ‘कालीगण्डकी’बाट ‘नदी सप्तक’ कविता शङ्खला सुरुआत गरिएको अभियानका अगुवा आरके अदिप्त गिरीले बताए ।