मादी हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि कारागार चलान

मंगलबार, असोज १९, २०७८

संखुवासभा  :

संखुवासभाको मादी नगरपालिका- १ उम्लिङ खोला गाउँमा भएको एकै परिवारका छ जनाको हत्यामा संलग्नलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । सोमबार जिल्ला अदालत संखुवासभाले हत्यामा संलग्न अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए ।

सूचना अधिकारी प्रसाईंका अनुसार उक्त हत्यामा संलग्न मादी नगरपालिका- १ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ ।

अदालतले १७ वर्षीय नरेश कार्कीलाई बाल सुधारगृह विराटनगर पठाउन आदेश दिएको सूचना अधिकारी प्रसाईंले बताए ।  गत २१ भदौ बिहान मादी- १ उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति आठ वर्षीय दीपेन कार्की र नातिनी पाँच वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो । 

हत्यामा संलग्न लिम्बू पक्राउ 

नेपाल प्रहरीले विराटनगर घर घई बूढानीलकण्ठ बस्ने ३० वर्षीय राज खड्काको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले ताप्लेजुङका ३५ वर्षीय प्रदीप लिम्बूलाई सोमबार साँझ पक्राउ गरेको हो । 
लिम्बूले खड्कालाई चक्कु प्रहार गरेर हत्या गरेका जनाइएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको करुणा अस्पताल चुनिखेलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हत्या सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार