सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा रोक लगाएको छ ।नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै यी चार वस्तुको आयातमा रोक लगाइएको जनाएकोे हो । सूचनामा २०७८ असारमसान्तसम्म ढुवानी भइसकेका बस्तु आयात गरिने र साउनदेखि आयात रोकिएको छ । विसं २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा आयात गर्न रोक लगाइएको केन्द्रीय बैंकले जनाएको छ । यसअघि २०७७ चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक वर्षदेखि लगाइएको प्रतिबन्द खुला गर्दै आयातामा कोटा प्रणाली लागू गरेको थियो । सरकारले वार्षिक ८० हजार मेट्रिकटन केराउ, २५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन नधुल्याएको मरिच आयातका लागि कोटा प्रणाली खुला गरेको थियो । मन्त्रिपरिषद्को स्वीकृतिका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त वस्तु आयातका लागि आवेदन माग गरेको थियो । सीमित कोटा राखेर आयात खुला गरिएका वस्तु तीन महिनापछि पुनः बन्द गरिएको हो । यसअघि २०७६ चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा सरकारले रोक लगाएको थियो ।
भारतीय केरा आयातमा रोक लगाउन माग
चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो । भारतबाट बैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद् रहेको भन्दै सङ्घले नेपालमै उत्पादित केरालाई प्रथामिकता दिनुपर्ने जनाएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा चितवनसहित विभिन्न जिल्लाका किसानले उत्पादन गरेको केरा खेतमै तयारी अवस्थामा रहनु तर विदेशी केराले बजार ओगट्नु दुःखद् रहेको जनाइएको छ । देशका ठूला बजारमा रहेका थोक केरा व्यापारी, खुद्रा व्यापारी र केही ठूला फलफूल व्यापारी मिलेर बजारलाई नियन्त्रणमा लिन खोजिएको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, “नेपाली किसानको उत्पादनलाई कमभन्दा कम दरमा खरिद गरी मार्ने काम भएको छ, यसलाई रोक्न भारतीय केरा आयातमा तत्काल रोक लागउन हामी माग गर्दछौ ।” नेपाली केरा किसान भारतीय आयातित केराका कारण विस्थापित हुने अवस्थामा पुग्दासमेत सम्बन्धित निकायले ध्यान दिन नसकेको सङ्घले जनाइएको छ । नेपालको चेक पोस्टमा भारतीय केराको विषादी कडाइका साथ जाँच गर्र्न, आयात हुने केराको भन्सारदर वृद्धि गरी अंकुश लगाउनाका साथै नेपाली केराको उत्पादन वृद्धि र बजार व्यवस्थापन गर्न पनि अनुरोध गरिएको छ । भारतीय केरा आयातमा रोक नलगाए सम्पूर्ण केरा किसान आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा जनाइएको छ । चितवनमा हाल ७१२ व्यावसायिक किसानले केरा खेती गर्दै आएका छन् । जिल्लामा तीन हजार ५० विघा जमिनमा केराखेती हुँदै आएको छ ।