अझै केही दिन हुस्सु–तुवाँलोले ढाक्छ 

अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली 
शनिबार, माघ ३, २०७७

काठमाडौं । न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । उक्त प्रणालीको प्रभावले अझै केही देशका अधिकांश भूभागमा हुस्सु तथा तुवाँलो लाग्ने बताइएको छ । हाल देशको प्रदेश नं १ का पहाडी भूभागमा सामान्य तथा आंशिक बदली रहेको छ । साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश नं २, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.० डिग्री र अधिकतम तापक्रम १९.८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३.४ डिग्री रहेको छ ।

चिसो बढेपछि विद्यालय बन्द
चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । ‘हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय ४५ दिन बन्द हुन्छ’, अदैले भने, ‘यो वर्ष फागुन २ गतेसम्मका लागि बन्द गरेका छौँ ।’ चिसोका कारण पश्चिम बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर छ । खोला तथा खोल्सा र धाराको पानी जम्न थालेपछि यहाँका स्थानीयलाई खानेपानीको समेत समस्या हुने गरेको अदैले बताए । 
ढोरपाटन शिकार अरक्षण क्षेत्रमा बस्ने स्थानीय घुम्ती बसाई सर्ने गरेका छन् । वर्षाका समयमा खेतीपाती, भेडा च्याङ्ग्रा तथा गाईभैँसी लिएर लेक गएका स्थानीय चिसोमा बेंसी झरेका छन् । उनीहरु ढोरपाटनकै वडा नं ८ र ९ को बोङ्गेदोभान, बोवाङ क्षेत्रमा झरेका हुन् । लेकमा रहेका घरगोठ र पशु चौपायको हेरचाहका लागि बसेकाको जनजीवन कष्टकर रहेको नगरप्रमुख देवकुमार नेपाली बताउनुहुन्छ । 
पानी नपरेकाले यसपाली ढोरपाटन क्षेत्रमा अहिलेसम्म हिमपात भएको छैन । तुसारो र सिरेठोले बिहान र बेलुकी कठिन बनाउने गरेको छ । बिहानको तुसारोले खोला र धाराको पानी जम्ने गरेको प्रधानाध्यापक अदै बताउनुहुन्छ । बागलुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसा जस्तो बन्ने गरेको छ । जमेको खोलामा तस्बिर खिचाउन तस्बिरका पारखी खोला छेउ पुग्ने गरेका छन् ।
 

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  २१:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार