बालबालिका सुधार्दै भुटानी शरणार्थी

आइतबार, असोज १७, २०७८

झापा । पारिवारिक विचलन र गरिबीका कारण भुटानी शरणार्थी बालबालिका कुलतको सिकार भएका छन् । अभिभावक तेस्रो देश पुनर्वास भएका परिवारका बालबालिका लागुऔषध र कुलतमा फसेको भुटानी शरणार्थी अगुवा युवराज राई बताउँछन् । शिविरमा दातृ निकायले रासन उपलब्ध गराउन छाडेपछि अधिकांश गरिबीको चपेटामा छन् । यसका कारण त्यस्ता परिवारका बालबालिका कुलतको सिकारमा फसेको उनले बताए ।

‘बालबालिकाको एकदम दर्दनाक अवस्था छ’, उनले भने, ‘केहीका अभिभावक जेलमा छन् । बिछोड र पीडाले उनीहरू गलत बाटो अपनाउन बाध्य छन् ।’

भुटानी शरणार्थी शिविर र स्थानीय समुदायको बस्ती नजिकै छ । अहिले शरणार्थी र नेपाली नागरिकका छोराछोरीले पढ्ने विद्यालय एउटै छ, जसका कारण कुलतको प्रभाव समुदायसम्म परेको शरणार्थी गीता गिरी बताउँछिन् । ‘नानी(बाबुहरूलाई अभिभावकत्वको खाँचो छ । अभिभावकको साथ नपाउँदा कुलतमा फस्दै गएको हामी देख्न सक्छौँ’, उनले भनिन्, ‘शिविर(स्थानीय समुदाय त नङ र मासु जस्ता छन् । यसको असर यहाँको स्थानीय समुदायसम्म पनि परेको छ । उनीहरूलाई सुधारनका लागि चेतनामूलक कार्यक्रम आवश्यक छ ।’

बालबालिकाले गलत बाटो अपनाएको निष्कर्ष निकाल्दै फ्रेन्स क्लब बीआरसीले सुधारको काम सुरु गरेको छ । अमेरिका पुनर्वास गएका भुटानी शरणार्थी मोहन पौडेल, लोचन खतिवडा, चन्द्र उप्रेती र भुवन आचार्यको सहयोगमा बालबालिकालाई कुलतमा फस्नबाट रोक्न अभियानको सुरुवात भएको हो ।

स्थानीय समुदायका १५ र शरणार्थी समुदायका १५ गरी १८ वर्षमुनिका ३० जना बालबालिकालाई ‘काउन्सिलिङ’ गरेर कुलतमा फस्नबाट जोगाउने अभियान सुरु गरिएको फेन्स क्लबका अध्यक्ष युवराज राईले जानकारी दिए । ‘शिक्षक(विद्यार्थी’ नाम दिएको यो कार्यक्रम तीन महिनासम्म चल्नेछ ।

‘यसमा अभिभावकविहीन जो कुलतमा फस्ने संभावना हुन्छ, त्यस्तालाई छनोट गर्छौं । कतिपय कुलतमा फसिसकेका पनि हुन्छन्’, उनले भने, ‘हाम्रो उद्देश्य बालबालिका कुलतमा फस्नुहुँदैन भन्ने हो ।’

बालबालिकालाई कुलतमा फस्नबाट जोगाउन चार जना दाताको सहयोगमा छ जना शिक्षक राखिएको उनले जानकारी दिए । ‘तीन महिनासम्म चल्ने कार्यक्रममा हामी प्रत्येक महिना उत्कृष्ट तीन जना छान्छौँ । उसलाई पैसा पुरस्कार दिँदैनौँ किनकि कतिपय बालबालिकाका बुबाआमा मादक पदार्थ सेवन गर्नुहुन्छ । पैसा दिँदा सकिन्छ । उहाँहरूका लागि जीविकोपार्जनमा सहयोग गर्ने पुरस्कार दिन्छौँ’, राईले भने, ‘अन्तिममा तीन जना उत्कृष्ट छान्छौँ । उनीहरू विद्यालय पढ्छन् भने छात्रवृत्ति दिन्छौँ । पढ्न रुचि नै नराख्ने छन् भने जीविकोपार्जनमा सहयोग गर्छौं ।’

उनले विगतदेखि नै स्थानीय समुदाय र भुटानी शरणार्थीबीच सुमधुर सम्बन्ध भएका कारण जुनै कार्यक्रममा पनि स्थानीय समुदायलाई जोड्ने बताए । ‘हामीबीच एकदमै सुमधुर सम्बन्ध छ । अप्ठ्यारो पर्दा यहाँका स्थानीयले धेरै सहयोग गर्नुभएको छ’, उनी भन्छन्, ‘हामी हरेक कार्यक्रममा स्थानीय समुदायलाई जोड्छौँ ।’

उनले यो कार्यक्रम सफल भएमा बालबालिका लक्षित अन्य कार्यक्रम पनि संचालन हुने बताए । यस कार्यक्रमलाई सहयोग गर्ने चार जना दाता अन्य कार्यक्रमका लागि पनि सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, असोज १७, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, असोज १७, २०७८