भारतमा कोरोनाविरुद्धको खोप अभियान सुरु 

तीन करोड मानिसलाई खोप लगाउने सरकारको तयारी 
शनिबार, माघ ३, २०७७

नयाँदिल्ली : भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरे । यो अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ । अग्रपक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड मानिसलाई खोप लगाउने भारतीय सरकारको तयारी छ । खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको छ । ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । शनिबार पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउन सक्ने व्यवस्था मिलाइएको छ । खोपका लागि एकिकृत बालविकास सेवाका कर्मचारीसहित सरकारी तथा नीजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई सवैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ । दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिए । उनले कोरोनाविरुद्धको खोप अभियान सुरु हुनुलाई ‘कोरोनाको अन्त्य नै सुरु भएको’ रुपमा लिएका छन् । अर्काे चरणमा ५० बर्षभन्दा बढी उमेरका व्यक्तिलाई मात्रै खोप दिइने मापदण्ड बनाइएको सरकारी अधिकारीहरुले जनाएका छन् । बृद्धबृद्धाहरु कोरोनाभाइरसबाट सङ्क्रमणको उच्च जोखिम हुने र सङ्क्रमित भइसकेपछि जित्न पनि गाह्रो हुनेभएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको उनीहरुले जनाएका छन् । उमेरले ५० बर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका विरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ । भारतमा दुई प्रकारका खोप लगाउनका लागि सरकारले अनुमति दिएको छ । भारत बायोटेकले बनाएको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको  कोभिशिल्ड खोप प्रयोग गर्न सरकारले अनुमति दिएको हो । 
खोप अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारी विरुद्धको सङक्रमण भारतीयहरु एकताबद्ध भएर लडेको बताउँदै खोपका लागि पनि भारतले कडा परिश्रम गरिरहेको बताए । ‘यती धेरै जनसंख्या भएको भारतमा महामारीका समयमा मानिसहरुले स्वास्थ्य मापदण्ड अपनाउँदा क्षति कम भएको छ । एक करोडभन्दा बढी मानिसहरुले महामारीसँग लडेका छन् । जितेका छन् । अन्य मुलुकभन्दा भारतमा महामारीको प्रभाव निकै न्युन छ’ उनले भने । 
भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या शनिबारसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार १५८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको संख्या एक करोड ५ लाख ४२ हजार ८४१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण १७५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५२ हजार ९३ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख ७९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ११ हजार ३३ सक्रिय सङ्क्रमित रहेका छन् । भारतको राष्ट्रिय राजधानी दिल्लीमा शुक्रबार २९५ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७३२ भन्दा बढीको मृत्यु भइसकेको छ । दिल्लीमा गत बिहीबार कोरोना सङ्क्रमणको कारण चार जनाको मात्र मृत्यु भएको जनाइएको छ । यो मे ११ देखि हालसम्म कोरोना भाइरसको कारण एक दिनमा मृत्यु हुने व्यक्तिको संख्या सब भन्दा कम भएको समाचारमा जनाइएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर १८ करोड ५७ लाख ६५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।  शुक्रबार एक दिनमा मात्र आठ लाख ३ हजार ९०  जनाको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ । – एएनआई  

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार