सोसल मिडिया
Contact Us
युनिकोड
कर्णाली । वीरेन्द्रनगर नगरपालिकाको उत्तरपश्चिमी क्षेत्र तारेभिरमा दिसाजन्य फोहर व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको छ । नगर क्षेत्रबाट सङ्कलित दिसाजन्य फोहरबाट प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माण गरिएको हो । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा दिसाजन्य लेदो प्रशोधन केन्द्र नहुँदा सेफ्टी ट्याङ्कीबाट निस्कने फोहर व्यवस्थापन चुनौती बनेको थियो । दातृ संस्था एसएनभीले नेपालको १७औँ दिसाजन्य लेदो प्रशोधन केन्द्रका रूपमा यसको निर्माण तथा परीक्षण सम्पन्न गरेको हो । एसएनभी नेपालले सफल परीक्षणपश्चात प्रशोधन केन्द्र सञ्चालनका लागि नगरपालिकालाई हस्तान्तरण गरेको छ । सन् २०१६ मा नगरपालिकाले एसएनभी नेपालको समन्वयमा सरसफाइ गुरुयोजना बनाएदेखि प्रशोधन केन्द्र निर्माणको प्रक्रिया थालनी भएको थियो । वीरेन्द्रनगर वडा नं १ को कृष्ण सामुदायिक वन क्षेत्रस्थित ल्याण्डफिल्डसाइटमा रु एक करोड ९७ लाखमा प्रशोधन केन्द्र निर्माण भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अब सेफ्टीट्याङ्कीबाट निकालिने दिसाजन्य लेदोलाई सिधै प्रशोधन केन्द्रमा व्यवस्थापन गरिनेछ । प्रशोधन केन्द्रबाट मिश्रित प्राङ्गारिक मल उत्पादन गरिनेछ भने नकुहिने फोहरलाई नजिकैको ल्याण्डफिल्ड साइटमा व्यवस्थापन गरिनेछ । काठमाडौँको नेपाल आदर्श निर्माण कम्पनी र सुर्खेतको दीपमाला इञ्जीनियरिङ कम्पनीले प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी पाएका थिए । केन्द्रको प्रशोधन क्षमता प्रतिदिन १० घनमिटर रहेको छ भने दैनिक ५० घनमिटर दिसाजन्य लेदो र २.५ मेट्रिक टन ठोस फोहर प्रशोधन गर्नेछ । एसएनभी नेपालका सुशासन सल्लाहकार मनिमा बुढाथोकीले प्रशोधन केन्द्र आधुनिक प्रविधिको प्रयोग, कम लागत, मर्मतसम्भार गर्न सहज हुनुका साथै वीरेन्द्रनगरले सरसफाइका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको बताए । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले दिसाजन्य लेदो व्यवस्थापनका लागि निर्माण गरिएको प्रशोधन केन्द्र नगरपालिकाको महत्वकांक्षी योजना भएको बताए । “फोहरलाई मोहर बनाउने हाम्रो सपना पूरा हुँदैछ, यो आयोजनाबाट सरसफाइको क्षेत्रमा महत्वपूर्ण पूर्वाधार खडा भएको छ”, उनले भने, “सरसफाइ गुरुयोजनाअनुसार अब संरचना निर्माण र फोहरमैला व्यवस्थापनका बाँकी काम पूरा गर्नेछौँ ।” त्यस्तै नगरपालिकाका सरसफाइ फोकल पर्सन प्रकाश पौडेलले फोहर विर्सजनका लागि निश्चित मूल्य निर्धारण गर्ने बताए । प्रशोधन केन्द्रको दीर्घकालीन सञ्चालनका लागि एसएनभी नेपालले डिपिआरसमेत तयार पारेको छ । नगरपालिकामा व्यक्तिगत सेफ्टी ट्याङ्कीबाट औसत तीनदेखि पाँच वर्ष र होटल व्यवसायबाट छ महिनामा सेफ्टीट्याङ्की सफा गर्नुपर्ने अवस्था छ । नगरपालिकाले निजी सेवा प्रदायक संस्थासँग समन्वय गरेर प्रशोधन केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ । एसएनभीले प्रशोधन केन्द्र सञ्चालनका लागि सेवाप्रदायक कम्पनीका चार तथा नगरपालिकाका तीन जना कर्मचारीलाई प्राविधिक तालिम दिएको छ । प्रशोधन केन्द्रबाट वातावरणीय क्षेत्रमा असर नपरोस् भन्ने उद्देश्यले प्रशोधन केन्द्रमा करिब १५ हजार बिरुवा रोपिएको छ ।