देशभरका थप २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण 

अब ४२ स्टेशनबा भूकम्प मापन गर्न सकिने 
शनिबार, माघ ३, २०७७

काठमाडौं । गोरखा भूकम्पपछि देशका विभिन्न बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको हो । 
सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र थाइल्याण्डको रायम्स कम्पनीको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरेको हो । चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, दार्चुलालगायत जिल्लामा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको भूकम्प मापन तथा भूकम्पीय जोखिम मूल्याङ्कन शाखाका प्रमुख भरतप्रसाद कोइरालाले जानकारी दिए । 
त्यस्तै जापान सरकारको सहयोगमा सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा तथा रायम्सको सहयोगमा महोत्तरी र दाङमा स्टेशन निर्माण गरिएको छ । गोरखा भूकम्पअघि नेपालका २२ स्टेशनले मात्र भूकम्प मापन गर्दै आएकामा अहिले २० स्टेशन थपिएसँगै ४२ स्टेशन पुगेका छन् । विस २०३७ सालमा ललितपुरको फूलचोकी डाँडामा पहिलो भूकम्प मापन स्टेशन निर्माण गरिएको थियो । 
राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले भूकम्प मापन स्टेशन निर्माण भएसँगै देशभर जाने भूकम्पको डाटा मापन गर्न सहज हुने विश्वास व्य    क्त गरे । ‘भूकम्प मापन  गर्ने धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पसमेतको मापन गर्न सहज भएको छ’ उनले भने । नेपाल हिमालय हिमश्रृङ्खलामा रहेको मुलुक भएकाले पनि यस क्षेत्रमा अन्य क्षेत्रको तुलनामा धेरै भूकम्प जाने गरेको केन्द्रले जनाएको छ । 
गोरखा भूकम्पसँगै नेपालमा चार रेक्टरभन्दा माथिका ५५० पराकम्पन गइसकेका छन् । यस्तै नेपालका पूर्वी तथा पश्चिमी क्षेत्रमा नयाँ भूकम्प जाने क्रम बढेको छ । हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतबाट देशरभरको भूकम्पका बारेमा जानकारी लिइँदै आइरहेकोे छ । 

‘भूकम्पबाट बच्न र बचाउन दृढ सङ्कल्प आवश्यक’
गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन सबैमा दृढ सङ्कल्प आवश्यक रहेको बताएका छन् । 
‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा आयोजित २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा उनले भूकम्पबाट आफ्नो सुरक्षा आफैले गर्ने भएकाले दृढ सङ्कल्प आवश्यक रहेको बताए । कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालिले ०७२ सालको भूकम्पमा भएको क्षतिमध्ये ९१ प्रतिशत जनताले निजी आवासको पुनःनिर्माण सम्पन्न गरेको जानकारी दिँदै सरकारले तीन लाख अरु लगानी जनता आफँैले गरेको उल्लेख गरे । सात हजार ५५३ विद्यालय पुनःनिर्माण हुनुपर्नेमा करिब छ हजार सम्पन्न भएको, करिब ९२० सम्पदा पुनःनिर्माण गर्नुपर्नेमा ६१ प्रतिशत सम्पन्न भएको भन्दै अहिले बनेका करिब आठ लाख घर सु्रक्षित घर बनिसकेका छन् । ज्ञवालीका अनुसार एक लाख तालिम प्राप्त निर्माणकर्मी उत्पादन भएको, सात हजार तालिम प्राप्त इन्जिनियर तयार भएका छन् । 

ललितपुरबाट दैवीप्रकोप व्यवस्थापन कोषमा रु ५० लाख 

ललितपुर महानगरपालिकाले प्रत्येक वर्ष दैवीप्रकोप व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ बजेट छुट्याउने भएको छ । २३ आँै राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७७’ को अवसरमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आगामी दिनमा आउन सक्ने भूकम्पीय जोखिमलाई मध्यनजर गरी कोषमा हरेक वर्ष ५० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिने जानकारी दिए । उनले महानगरका हरेक वडाले पनि विकास बजेटमा आएको रकमबाट एक लाख रुपैयाँ कोषमा जम्मा गर्नेछन् । महानगरपालिकाले विपद् जोखिममा परेका नागरिकलाई बचाउन विभिन्न किसिमका तालीमलगायत असहाय अनि बिरामी व्यक्ति राख्न वडा नं १७ ग्वार्काे र वडा नं २२ बुङ्मतीमा भवनको समेत व्यवस्थापन गरिसकेको छ ।    
वडा नं. १२ का वडाध्यक्ष नारायणलाल अवालेले हरेक वडामा आउने बजेटबाट ५ प्रतिशत भूकम्पीय व्यवस्थापनमा छुट्टाएर आफ्नै स्रोतबाट काम गर्ने कुरा अघि बढिरहेको जानकारी दिए । ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले विपद् अप्रत्यासित रूपमा आइपर्ने भएकाले पूर्वतयारी, प्रतिकार्य र पुनर्लाभ जस्ता कार्यमा ध्यान दिन जरुरी रहने औँल्याए ।  कार्यक्रममा १९९० सालमा भूकम्प गएपछि १९९७ सालमा पाटनको भीमसेन मन्दिर अगाडि अन्नपूर्णेश्वरीको मूर्ति स्थापना गरी आउने जोखिम हटाइएको बताइयो ।     विसं १९९० को भूकम्पमा परी ललितपुरवासीले घर बनाउन खर्च गरेको रु २४ लाख २१ हजार ३० भने तत्कालीन सरकारले सबैलाई मिनाहा गरिदिएको शिलालेखमा उक्त कुरा उल्लेख गरिएको पाइन्छ ।–रासस
 

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १०:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार