सोसल मिडिया
Contact Us
युनिकोड
राजविराज । तीन÷चार दिनदेखि तराई–मधेशमा एक्कासी बढ्दै गएको हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । एक्कासी वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहर बढेकाले तराई–मधेशका जिल्लामा जाडो बढेको हो ।तीन÷चार दिनदेखि तराईका क्षेत्रमा बढ्दै गएको शीतलहरले मानवजीवनसँगै गाईगोरु, खसीबाख्रा, भैँसी जस्ता घरपालुवा जनावरलाई पनि थप असर परेका कारण कष्टकर देखिएको छ । तराईवासीले केही दिनदेखि सूर्यका किरण नउदाउँदा घामको अनुभूतिसमेत पाइएको छैनन् । सध्याकालदेखि बिहान ९–१० बजेसम्म बाक्लो कुहिरो लाग्ने गरेको छ । बाक्लो कुहिरो लागेका कारणले पूर्वपश्चिम राजमार्ग र सहायक मार्गको सडकमा आवतजावत गर्ने सवारी चालकले बाटो हेर्न नसकेर सडक दुर्घटना हुने खतरासमेत बढेको ट्रक चालक किरपानन्द यादवले बताए । विगत वर्षमा कुहिरो लाग्ने समयको भन्दा यो वर्ष फरक रहेको छ । प्रायः पुस महिनाको प्रारम्भमै अर्थात् अन्तिम डिसेम्बरदेखि जनवरीसम्म कुहिरो लाग्ने गर्दथ्यो । यस वर्ष चाहिँ पुसको अन्तिम र माघको पहिलो हप्तामा बाक्लो कुहिरो लागेको हनुमाननगर कंकालनी नगरपालिका वडा नं २ का वृद्ध गोसाई मण्डलले बताए ।
दाउरा वितरण
तीन÷चार दिनदेखि बढिरहेको शीतलहरले जनजीवन प्रभावित भएको भन्दै बिहीबार यहाँ स्थानीय प्रशासनले दाउरा वितरण गरेको छ । हाल बढिरहेको शीतलहरले गर्दा सदरमुकाम राजविराज आउने मानिसलाई चिसोले गर्दा कष्ट भोग्दै आएकालाई आगो बाल्नका लागि दाउरा वितरण गरिएको हो ।सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिशङ्कर आचार्यको नेतृत्वमा गजेन्द्रनारायण सिंह अस्पताल, गजेन्द्र चोक, अदालत अगाडि, रूपनी मोड र खानेपानी चोकमा सुकेका दाउरा बाल्न व्यवस्था मिलाएको सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवले जानकारी दिए । दाउराको व्यवस्था गरिएकाले शीतलहरबाट बच्न सदरमुकाम आउने मानिसलाई समेत केही राहत हुने गरी स्थानीय प्रशासनले दाउरा व्यवस्था गरिएको उनले बताए । ज्येष्ठ नागरिक प्रदेश न २ का अध्यक्ष शङ्कर शारद, वरिष्ठ पत्रकार शिवहरि भट्टराई, वैजनाथ झा र सप्तरी युथ नेपालका कोषाध्यक्ष विष्णु यादवको उपस्थितिमा सुकेका दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाएको छ ।