बागमती नदीमा बेपत्ता भएका स्याङतानको शव तीन दिनपछि फेला

मंगलबार, चैत १०, २०८२

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ नुनथरस्थित बागमती नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका एक व्यक्तिको शव तीन दिनपछि फेला परेको छ । चैत ७ गते माछा मार्ने क्रममा बेपत्ता भएका सर्लाहीको बागमती नगरपालिका–४ नयाँबस्ती निवासी करिब ४० वर्षीय कामी सिंह स्याङतानको शव मंगलबार फेला परेको हो । गत आइतबार  बिहान करिब साढे १० बजेतिर नदीमा डुबेर बेपत्ता भएका स्याङतानको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय चन्द्रपुरकी प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा खटिएको टोलीले निरन्तर खोजी कार्य जारी राखेको थियो । खोजतलासकै क्रममा आज बिहान साढे ७ बजेतिर नुनथर झोलुङ्गे पुलबाट करिब १०० मिटर उत्तरतर्फ बागमती नदीको पानीमा तैरिरहेको अवस्थामा स्याङतानको शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । सुरक्षा निकायको संयुक्त टोलीले डुंगाको प्रयोग गरी शवलाई नदी बाहिर निकालेका थिए । शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर सरकारी अस्पताल पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार