केन्यामा खडेरीले २.४ लाख व्यक्ति भोकमरीको खतरामा : डब्ल्यूएफपी

शनिबार, असोज १६, २०७८

नैरोबी । उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेको कारण नोभेम्बरसम्ममा कम्तीमा पनि २४ लाख मानिसलाई जटील खाद्यान्न अभाव हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले शुक्रबार चेतावनी दिएको छ । गतवर्षको तुलनामा यो झन्डै तीन गुणाले वृद्धि भएको डब्ल्यूएफपीले बताएको छ । पूर्वी अफ्रिकी मुलुकमा हालैका वर्षहरूमा एकपछि अर्को विपत्तिले यहाँको अर्थव्यवस्थालाई धरासायी बनाएको छ । डिसेम्बर २०१९ मा सलहको आक्रमण र सन् २०२० र २०२१ मा कम वर्षा भएका कारण सुक्खा उत्तरी र पूर्वी क्षेत्रमा खाद्यान्नको आपत्कालीन अवस्थाको सामना गर्नुपरेको छ ।
राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार राष्ट्रपति उहुरु केन्याट्टाले गत महिना खडेरीलाई प्राकृतिक विपत्तिको रूपमा घोषणा गर्नुभएको थियो । यहाँ दुई लाख १० हजार मानिसले भोकमरीको सामना गरिसकेका बताइएको छ । 
संयुक्त राष्ट्रसङ्घीय निकाय डब्ल्यूएफपीको भयावह प्रक्षेपण गत वर्ष अक्टोबर र डिसेम्बरबीच रेकर्ड गरिएको तथ्याङ्कभन्दा झन्डै तीन गुणा बढी छ । उक्त समयमा साढेआठ लाखभन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए ।
“यो खडेरी कोभिड–१९ को ठीक पछाडि आएको छ जसले जीवनयापनमा ठूलो आर्थिक प्रभाव पारेको छ । डब्ल्यूएफपी प्रतिनिधि लरेन ल्यान्डिसले एएफपीलाई बताए ।
उनले भने, “अक्टोबर महिनामा आउने पछिल्लो छोटो (वर्षा) ऋतु पनि खाद्यान्न समस्या सम्बोधन हुनेगरी वर्षा गराउन असफल हुने देखिएको र यसको कारण केन्यामा खाद्यान्न अभावको अत्यन्तै खतरनाक परिस्थिति आउने कुरामा हामी साह्रै चिन्तित छौँ ।”
“केन्यामा हामीले भोगेको अन्तिम ठूलो खडेरीका कारण आएको सन् २०१७ को खाद्यान्न सङ्कटको स्तरमा पुग्नेछौँ । मेरो विचारमा हामीले आगामी महिनाहरूमा खाद्यान्न अभाव भएका थप २५ लाख मानिसहरूलाई हेर्नुपर्ने दायित्व हाम्रो आउने देखिएको छ ।”– एएफपी  
 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार