सोसल मिडिया
Contact Us
युनिकोड
रसुवा । चीनसँगको अन्तरर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट भेडा च्यांग्रा नेपाल भित्रिएका छन् । दशैँ नजिकिएसँगै रसुवागढी नाका हुँदै भेडा च्यांग्रा नेपाल भित्रिएका हुन् । बिहीबार चीनबाट एक सय ७० वटा भेडा च्यांग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको व्यापारी दिवाकर न्यौपानेले जानकारी दिए । दुई सय भेडा च्यांग्राको माग गरिए पनि थोरै संख्यामा नेपाल भित्रिएको उनले बताए । ‘चीनतर्फ सम्पर्क राखेर भेडा च्यांग्रा ल्याइदिन माग गरेका थियौँ, रसुवागढी नाकासम्म उतैबाट ल्याइदिनुभयो, भेडा च्यांग्राको शुक्रबार भन्सार गछौँ’ उनले भने । विगतका वर्षभन्दा यो वर्ष भेडा च्यांग्राको मूल्य महंगो परेको न्यौपानेले बताए । गत वर्षको तुलनामा यो वर्ष चीनमै तीन हजारदेखि तीन हजार पाँच सय सम्म बढी मूल्य परेको उनले बताए । नेपाल भित्रिएको प्रतिभेडा च्यांग्राको मूल्य २८ हजारदेखि ३२ हजारसम्म मूल्य पर्ने उनले बताए । ‘गतवर्ष भन्दा यो वर्ष महंगो परेको छ, पहिला १२(१३ सय प्रतिकिलो पर्थ्यो भने अहिले १७(१८ सय पर्ने देखिएको छ’, उनले भने । चीनबाट यो बाहेक अरू भेडा च्यांग्रा नआउने उनले बताए । ‘नाका बन्द छ, पहिला जस्तो हामी आफै जान पाएका छैनौँ, फोन सम्पर्कको भरमा निकासी गर्नुपरेको छ’, उनले भने, ‘माग गरिएका अन्य सामान त आएको छैन् भने यो ल्याउन पनि धेरै समस्या भयो । तिब्बतबाट प्रत्येक वर्ष भेडा च्यांग्रा आयात हुँदै आएको छ । सुरुमा प्रतिभेडा तथा च्यांग्रा सात सय रुपैयाँमा आउने गरेकोमा पछिल्लो समय मूल्य बढ्दै गएको र आयातमा पनि कमि आएको छ । कोभिड(१९ सुरु हुनुपूर्व नेपाली व्यापारीले केरुङसम्म पुगेर भेडा च्यांग्रा आयात गर्ने गरेका थिए । केरुङसम्म त्यहाँकै व्यापारीले ल्याउने गरेका थिए । नेपाली व्यापारी भेडा च्यांग्रा लिन २४ किलोमिटर टाढासम्म पुग्ने गरेका थिए । पछिल्लो समय बढी मूल्य पर्ने र झन्झटिलो भएकाले आयातमा कमि आएको व्यापारी बताउँछन् । २०७० सालमा दुई सय दुई, २०७१ मा एक सय ८० र २०७३ मा दुई सय ५० वटा र २०७४ सालमा ५५ वटा तथा २०७५ मा चार सय ७० वटा, २०७६ मा दुई सय ९० वटा भेडा च्यांग्रा आयात भएको तथ्यांक छ । २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडा च्यांग्रा आयात हुने गरेको थियो ।