सोसल मिडिया
Contact Us
युनिकोड
ढाका । बङ्गलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी एक शरणार्थी नेताको हत्या गरिएको छ । कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उल्लाहमाथि गोली प्रहार गरेका थिए । उनीहरू करिब पाँच जनाको समूहमा रहेका एक प्रत्यक्षदर्शी शरणार्थीले बताएका छन् । शिविरस्थित आफ्नो कार्यालय परिसरमा अन्य शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको प्रहरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०१७ मा म्यानमार सरकारले रखाइन प्रान्तमा दमन बढाएपछि लाखौँ रोहिंज्या मुस्लिमहरूले छिमेकी बङ्गलादेशमा शरण लिएका थिए । बङ्गलादेशमा अहिले रोहिंज्या शरणार्थीका ३४ वटा क्याम्प बनाइएका छन् । उल्लाहले रोहिंज्या शरणार्थीको हकहितमा काम गर्न आराकान ‘रोहिंज्या सोसाइटी फर पिस एन्ड ह्युमन राइट्स’ नामक संस्था खोलेका थिए । उल्लाहको हत्याको पछाडि कस्को हात थियो भन्ने बारे कुनै खुलासा भएको छैन । उनको मृत्युमा शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घको उच्च आयोगले गहिरो दुःख व्यक्त गरेको छ ।– एएफपी