उपत्यकामा करिब ५० प्रतिशतलाई कोरोना खोप

सक्रिय सङ्क्रमित आधा  घटे 
बुधबार, असोज १३, २०७८

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ । 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ ।  स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार काठमाडौँ उपत्यकाका ५० प्रतिशतले पहिलो मात्रा र ४८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । उपत्यकामा पहिलो मात्रा १६ लाख २२ हजार ४४१ र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनालाई लगाइसकिएको छ । 
काठमाडौँ उपत्यकाका ३२ लाख ४७ लाख ५५८ जनसङ्ख्यामध्ये १८ वर्ष माथिका २१ लाख २९ हजार ७७३ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखिएको छ । मन्त्रालयको खोप शाखाका अधिकृत भरत भण्डारीले काठमाडौँ जिल्लामा पहिलो मात्रा ५१.५ प्रतिशतले र ४८.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका बताउनुभयो । काठमाडाँै जिल्लामा खोप लगाउने लक्षित जनसङ्ख्या १५ लाख ६२ जना हो ।  त्यस्तै ललितपुरमा ४९.७  प्रतिशत पहिलो मात्रा र ४५.४ प्रतिशत पूर्ण मात्रा तथा भक्तपुरमा ४१ प्रतिशत पहिलो मात्रा र ४९ प्रतिशत पूर्ण मात्रा खोप लगाइसकेका छन् । ललितपुरमा तीन लाख ८२ हजार ८६० जना र भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना खोप लगाउने लक्षित जनसङ्ख्या हो । यसरी हेर्दा ढिलोमा दसैँसम्ममा उपत्यकाको सबै लक्षित वर्गको कम्तीमा ५० प्रतिशतले खोप लगाइसक्ने देखिएको छ ।    राजधानी उपत्यका धेरै जनासङ्ख्या भएको, प्रायः देशभरका मानिसहरूको मिश्रित बस्ती रहेको स्थान हो । बढी जनसङ्ख्या रहेको यो उपत्यकामा ५० प्रतिशत नागरिकलाई खोप लगाउनुलाई उपलब्धिका रूपमा लिनुपर्ने हुन्छ ।  
त्यसपछि सबैभन्दा बढी खोप वाग्मती प्रदेशमा लगाइएको छ । यस प्रदेशमा पहिलो मात्रा ३८.२ प्रतिशत र पूर्ण मात्रा ३५.३ प्रतिशतले खोप लगाइसकेका छन् । भण्डारीले काठमाडौँ जिल्लामा ३५ वर्षमाथिका लागि पनि खोप लगाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । 
सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । यस्तै पुसमा दुई तिहाइ र चैत मसान्तसम्म सबै लक्षित नागरिकलाई खोप लगाउने सरकारको तयारी रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई खोप लगाउने कामलाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै आएका छन् ।    
खोप कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप प्रदान गर्दै आइरहेको छ । अहिले काठमाडौँ उपत्यकामा ४० वर्षमाथिका सबै र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीले ती खोप केन्द्रबाट खोप लगाइरहेका छन् । 

सङ्क्रमण आधाभन्दा बढी घट्यो 
कोरोना भाइरसका सक्रिय सङ्क्रमितमा ५० प्रतिशतभन्दा बढी कमी आएको देखिएको छ । यसअघि सबैभन्दा बढी गत भदौ ३ गते ४० हजार ५०० जना सक्रिय सङ्क्रमित रहेकामा हिजो मङ्गलबारको तथ्याङ्कमा जम्मा १८ हजार ४२२ जना मात्र सक्रिय सङ्क्रमित देखिएका छन् । सक्रिय सङ्क्रमितको यो गिरावट ५० प्रतिशतभन्दा बढी हो ।     

सङ्क्रमण दर पनि घट्दै 

यस्तै सबभन्दा बढी सङ्क्रमण देखिएको भदौ ३ पछि क्रमशः सङ्क्रमण दर घट्दै गएको पाइएको छ । त्यस दिन १६ हजार ४३८ जनामा परीक्षण गर्दा तीन हजार ७५ जनामा सङ्क्रमण देखिएको थियो । यो परीक्षण गरिएकामध्ये १८.७ प्रतिशतमा सङ्क्रमण देखिएको हो । 

त्यसको ठीक एक महिनापछि यही असोज ३ गते १० हजार १३ जनामा परीक्षण गर्दा ७३४ जनामा सङ्क्रमण देखिएको थियो । यो सङ्क्रमणको ७.३ प्रतिशत हो । त्यसैगरी हिजो मङ्गलबार १४ हजार तीन जनामा कोभिड–१९ परीक्षण गर्दा एक हजार १५८ जनामा सङ्क्रमण पाइएको थियो । यो सङ्क्रमणदर दर ८.३ प्रतिशत हो । 

सेप्टेम्बर महिनामा कोरोना भाइरसको सङ्क्रमण दर ८.३ प्रतिशत मात्र रहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना परीक्षण गरिएकामध्ये सेप्टेम्बर महिनामा ८.३ प्रतिशतमा मात्र सङ्क्रमण रहेको पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो अगष्ट महिनामा कूल परीक्षण गरिएकामध्ये १३.६ प्रतिशत रहेको थियो । एक महिनाको बीचमा सङ्क्रमण दर ५.३ प्रतिशतले कमी आएको छ । 
यस्तै मन्त्रालयका अनुसार सेप्टेम्बर महिनामा पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्णमात्रा २८.३ प्रतिशतले जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । 
यस्तै अगष्ट महिनामा २४.५ प्रतिशत पहिलो मात्रा र २०.५ प्रतिशत जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाइसकेका थिए । अहिलेसम्म एक करोड २९ लाख ५८ हजार ५०८ ले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी उमेर समूहले आफ्नो पालोमा खोप लगाउन आग्रह गरेको छ । 
नागरिकहरूले कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्यामा भएको वृद्धि तथा जनस्वास्थ्यको मापदण्डमा कडाइका कारण पछिल्ला दिनहरूमा भाइरसको सङ्क्रमण घट्दै गएको देखिएको छ । 

एक करोड ७८ लाख मात्रा खोप प्राप्त 

नेपालमा अहिलेसम्म एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा खोप प्राप्त भइसकेको छ । कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा, अस्ट्राजेनिका १९ लाख ७५ हजार ८६० मात्रा, जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा र भेरोसेल खोप एक करोड १९ लाख मात्रा प्राप्त भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

काभ्रेका छ पालिकामा कोरोना सङ्क्रमणदर शून्य 

यहाँका दुई नगरपालिका र चार गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् । अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको तथ्याङ्कले देखाएको छ ।
सङ्क्रमणमुक्त हुनेमा मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका तथा चौँरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । भुम्लु र महाभारत गाउँपालिकामा एक÷एक सङ्क्रमित रहेको  जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लोे २४ घण्टामा जिल्लामा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने २२ सङ्क्रमणमुक्त भएका हुन् ।
सोमबार नौ सङ्क्रमित थपिए भने २० सङ्क्रमणमुक्त भएका छन् । चौंरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका भने केही हप्तादेखि सङ्क्रमणमुक्त भएका हुन् । जिल्लामा हाल ७४ सक्रिय सङ्क्रमितमध्ये बनेपामा २६, पाँचखालमा आठ, धुलिखेलमा २२, पनौती नगरपालिकामा छ तथा बेथानचोक गाउँपालिकामा १० सङ्क्रमित रहेको केन्द्रले जनाएको छ ।
केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदर भन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो । जिल्लामा हालसम्म १४ हजार ५७० मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । गत भदौ महिनायता नगन्यदरमा सङ्क्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ दशमलव १७ प्रतिशत अर्थात् १४ हजार ३०४ सङ्क्रमणमुक्त भइसकेका छन् ।
सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले जिल्लामा पछिल्ला केही हप्तादेखि यही असोज ५ गतेसम्म ‘मिक्स लकडाउन’ गर्दै आएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो । 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार