वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

दैनिक ३ लाख जनतालाई खोप
बुधबार, असोज १३, २०७८

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैंअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारीसमेत दिए। विश्व मुटु दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको जानकारी दिए । वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाइ छ । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको दाबी गरे ।
उनले भने, ‘करिब ३ महिनाको अवधिमा १ करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु। किनभने हामीले १ करोड ७७ लाख खोप ल्याइसकेका छौँ। यो दसैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाईसक्ने जानकारी पनि गराउन चाहन्छु। हाल आएर एक दिनमा ३ लाख जनतालाई खोप लगाएका छौ‍ँ। फ्रन्ट लाइनरहरुलाई खोपमा उच्च प्राथमिकता दिइएको छ। १४ वटा हिमाली जिल्लाहरुमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ। बालबालिकाहरुका लागि पनि १ करोड खोपको सुनिश्चित गरिएको छ ।’
राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागिपरेको बताए।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएको जानकारी दिए ।  उनले साइकल चढेर नागरिकहरुले शारीरिक व्यायाम गरुन् भनेर ललितपुर महानगरपालिकाभित्रको चक्रपथमा १५ दशमलव ८ किलोमिटर साइकल ट्र्याक बनाउने योजना तय गरेकोसमेत बताए ।
कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. रवी मल्ल, क्यान्सर रोग विशेषज्ञ डा। राजेन्द्रप्रसाद बराल, मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, स्नायु रोग विशेषज्ञ डा. बसन्तराज पन्त र समाजसेवी कृष्ण कँडेललाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार